बागमती

हेटौंडावासीलाई आजबाट पिउने पानी निःशुल्क

इकागज |
भदौ १, २०७९ बुधबार १६:५५ बजे

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई आजबाट पिउने पानी निःशुल्क उपलब्ध हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाले १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो ।

हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच गत २२ साउनमा भएको सम्झौता अनुसार आज १ भदौबाट पानी निःशुल्क प्रदान गरिने भएको हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाका बिचमा सम्झौता भएको थियो । नगरवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने हेटौंडा नगर देशकै पहिलो उपमहानगरपालिका हो । साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटरसम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।


सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, सामुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।
सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५ रुपियाँ, सामुदायिक विद्यालयलाई प्रति धारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी स्वास्थ्य केन्द्रलाई अनमिटर प्रति धारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महसुल रकम उपलब्ध गराउने छ ।

सहमति अनुसार खाने पानीको बिलिङ भएको महिनाको १० गतेभित्र महसुल रकम बुझाउनु पर्नेछ । उपमहानगरको २३ हजार ५ सय धारामा यो लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ । खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।

हेटौंडा खानेपानी व्यावस्थापन बार्डले बागमती प्रदेशको राजधानी हेटौंडामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुने गर्दै आएको छ । आज बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड सदस्य इन्द्र नेपालले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अवस्था र आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।

बोर्डले चालु आर्थिक वर्षका लगि १८ करोड ८२ लाख २० हजार रुपैयाँ बजेट पेश गरेको छ । चालु आर्थिक वर्षमा आम्दानी गर्ने लक्ष्य अनुसार पुँजीगत खर्च ५१ प्रतिशत, कार्यालय सञ्चालन खर्च २८ दशमलब ६६ प्रतिशत, सेवा सञ्चालन खर्च २० दशमलब ३४ प्रतिशत खर्च गर्ने लक्ष राखिएको छ ।

खानेपानी बोर्डको सबै भन्दा धेरै आम्दानी खानेपानी महसुलबाट हुनेछ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकम मध्यमा सबै भन्दा बढी ७० दशमलब ४१ प्रतिशत आन्तरिक आय रकम रहेको छ ।

बोर्डबाट वितरण हुने दैनिक १ करोड ८२ लाख खानेपानी उत्पादन तथा वितरणको क्रममा १२ प्रतिशत चुहावट हुने गरेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । बोर्डमा आबद्ध २२ हजार २ सय १४ धारा रहेको र खानेपानीबाट मासिक ९० लाख ४० हजार महसुल संकलन हुने गरेको बताए । बोर्डले हेटौंडामा दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ ।

बोर्डले आर्थिक वर्ष २०७८/७९ आय तर्फ पानी महुसुल,जरिवाना, नयाँ धारा जडान, पानी परीक्षण शुल्क, बैंक व्याज, हेटौंडा उपमहानगरको साझेदारीबाट प्राप्त भएको र अन्य निकाय संघ संस्थाबाट आएको र गत वर्षको राजस्व मौज्दात समेत गरेर १ अर्ब ६ करोड ४४ लाख २५ हजार ७१२ रुपैया संकलन भएको छ ।

यसैगरी बोर्डले व्यव तर्फ कार्यालय संचालन खर्च ४ करोड ७० लाख ४९ हजार ४२ रुपैयाँ,सेवा संचालन खर्च तर्फ २ करोड ९२ लाख ६४ हजार ८२५ रुपैयाँ खर्च भएको जनाएको छ । बोर्ड आगामी वर्ष भीमफेदी स्थित कुलेखानी भैसे खोलाको पानी शुद्धिकरण गरेर वितरण गर्ने योजना रहेको जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले आफूले अबको ५ वर्षे कार्यकाल भित्र हेटौंडाको सबै वडाहरुको टोल गाउँहरुलाई बोर्डमा सहभागी गराएर शुद्ध खानेपानी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आजै अर्थात १ भदौबाटै उपमहानगरले बोर्डमा आबद्ध ग्राहकहरुलाई मासिक १० हजार लिटर खानेपfनी निःशुल्क वितरण सुरु गरेको छ ।


Author

थप समाचार
x