बागमती

उपमहानगरले रोजीरोटी खोसेको भन्दै अटो चालकहरु आन्दोलित

इकागज |
भदौ २, २०७९ बिहीबार १५:१८ बजे

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजारमा साना सवारीलाई व्यवस्थित गर्न भन्दै तय गरेको मापदण्डविरुद्ध अटो चालकहरु आन्दाेलनमा उत्रेका छन् । बजारमा तीन पाङ्ग्रे अटो सञ्चालनको लागि नयाँ मापदण्ड बनाएपछि यहाँका सयौं अटो चालक तथा अटो व्यवसायी आन्दोलित भएका हुन् ।

उनीहरुले अटो सहित हेटौँडा उपमहानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका छन् । हेटौँडामा सञ्चालनमा रहेका करिब ५ सयको हाराहारीमा अटो व्यवसायी तथा चालकहरुले उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफूहरुको रोजीरोटी खोसेको आरोप लगाएका छन् ।


२०७६ पुस ९ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न दिने भन्दै साताअघि यस्ता अटोलाई हरियो स्टिकर टाँसेको थियो । “ग्रिन स्टिकर” टाँस्न सुरु गरेदेखि नै असन्तुष्ट अटो व्यवसायीहरुले उपमहानगरपालिकामा धर्ना दिएका हुन् । २०७६ पुस ९ भन्दा पछि दर्ता भएर सञ्चालनमा रहेका अटो व्यवसायीले आफूहरुले पनि हेटौंडा बजारमा अटो चलाउन पाउनु पर्ने माग सहित धर्ना तथा प्रदर्शन सुरु गरेका हुन् ।

“सबैलाई समान व्यवहार हुनुपर्छ, आखिर दर्ता भएर नै चलेका छौ सबै, अधि र पछि भनेर विभेद गर्न पाइदैन” अटो चालक राजु गहतराजले भने । सबैलाई समान नीति हुनुपर्ने माग उनीहरुले राखेका छन् । राज्यले अटो सञ्चालनको लागि रुट परमिट समेत दिएको अवस्थामा उपमहनगरपालिकाले यसबारे समन्वयको साटो विभेदकारी नीति लिएको अर्का चालक अशोक श्रेष्ठले भने ।

स्थानीय सरकारले सानो तिनो समस्याको नाममा आफूहरुको बाँच्ने आधार नै खोस्न लागेको भन्दै उनीहरुले आक्रोस पोखेका छन् । “बजार क्षेत्रमा नै यात्रुहरु पाइन्छन्, बजार बाहिर कहाँ चलाउने ?” अटो व्यवसायी कमला विश्वकर्माले भनिन् ।


Author

थप समाचार
x