बागमती

उद्याेगमै अखाद्य वस्तु, अनुगमन पुग्नु पहिल्यै बन्द हुन्छन् बजारका पसल

मिलेमतो नभए अनुगमन आउँदैछ भन्ने जानकारी कसरी हुन्छ ?

सरिता दाहाल |
भदौ ३, २०७९ शुक्रबार १९:२९ बजे

मकवानपुर-  सामान्यतया अखाद्य पदार्थको बिक्रीवितरण भए नभएको अनुगमन बजार र पसलहरूमा गरिन्छ । तर बजार र पसलहरूमा भन्दा समस्या उत्पादन र भण्डारणको क्रममा उद्योगमै हुने गरेको पाइएकाे छ।

मकवानपुर जिल्लामा विशेष गरी चाड पर्व नजिकिँदै गर्दा प्रशासनले बजार अनुगमन गर्छ ।  उपभोक्ताको तीव्र गुनासो र दबाबमा आक्कझुक्कल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अन्य निकायलाई समेत साथमा लिएर बजारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । तर बजारमा अनुगमनको क्रम सुरू हुनु पुर्व नै पसलका सटरहरू बन्द हुन्छन् र अनुगमन सिमित पारिन्छ । प्रशासनले अनुगमन थाल्दैछ भन्ने पूर्व जानकारी पाएरै यसरी सटरहरू बन्द हुनुमा मकवानपुरका पत्रकार सरोज पौडेल भन्छन् 'मिलेमतो नभए, अनुगमन आउँदैछ भन्ने जानकारी कसरी हुन्छ।'


जुन व्यापारीसँग अनुगमनको टोलीको कुरो मोल्दैन,उ कहाँ मात्रै अनुगमन गरिने गरेको भन्दै उनले शंका प्रकट गरे । अनुगमन टोलीमा सहभागी पत्रकार पौडेल भन्छन् 'एउटा पसलमा अनुगमन टोली पस्नासाथ अरू सबै बन्द भए,अनि टोली फर्क्यो ।'

बजारको अनुगमन प्रभावकारी नभएको कारण अखाद्य पदार्थको बिक्रीवितरण खुलेआम नै छ । यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका खाद्य उद्योगहरुको अनुगमन गरिएको छ । अनुगमनबाट खाद्य उद्योगहरु अवैध तरिकाबाट अखाद्य वस्तु उत्पादन गरेर बजार पठाउने कार्यमा संलग्न रहेको खुलेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले बजारका पसलमा भन्दा पनि उद्योगहरुमै ठूलो समस्या देखिएको बताए । अनुगमनबाट उद्योगहरु नै अवैध तरिकाबाट अखाद्य वस्तु उत्पादन गरिरहेको पाइएको खतिवडाले बताए ।

मानव तथा पशुपन्छी स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउने अखाद्य वस्तु उत्पादन गर्ने आद्योगिक क्षेत्रको दुई उद्योगलाई प्रशासनले कारबाही गरेको छ । प्रशासनले मसौरा उत्पादन गर्ने अनामिका खाद्य उद्योग शिल गरिएको छ । मानव स्वास्थ्यको ख्याल नै गरी अखाद्य वस्तु उत्पादन गरिरहेको पाइएपछि उद्योगमा शिल गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । अनामिका उद्योग आफैंमा अवैध रहेको खुलेको छ ।

२०७६ असार मसान्तपछि उद्योगको खाद्य अनुज्ञा पत्र नै नवीकरण नभएको खुलेको हो । उद्योगमा अत्याधिक फोहोर पाइएको, खाद्य पदार्थमा संक्रमणको जोखिम देखिएको उत्पादन भएर बिग्रिएको वस्तुलाई फेरि उत्पादनमा प्रयोग गरेको पाइएकोले शिल गरिएको सहायक प्रजिअ गैह्रेले जानकारी दिए । उक्त उद्योगलाई ३ दिनभित्र कागजातसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ ।

मानवीय स्वास्थ्यका लागि मात्रै हैन पशुपंछिका लागि दाना लगायतका उत्पादन पनि स्वस्थकर हुनु जरूरी छ । प्रशासनले पशुपंछिका लागि दाना उत्पादन गर्ने औद्योगिक क्षेत्रको भ्याली फिड प्रालिले पनि अवैध तरिकाबाट दाना उत्पादन गर्ने गरेको फेला पारेको छ । उद्योगले दानाको उत्पादन र उपभोग्य मिति नै नखुलाई बिक्रीका लागि बजार पठाउने गरेको खुलेको हो । भ्याली फिड प्रालिबाट १ लाख १४ हजार ७ सय ५० मूल्य बराबरको ४५ बोरा दाना नष्ट गरिएको जनाइएको छ । उपभोग्य मिति सकिएको दाना नष्ट गरिएको सहायक प्रजिअ गैह्रेले बताए ।

यस उद्योगको १३ हजार केजीको ९ लाख २३ हजार मूल्य बराबरको २ सय ६० बोरा दाना बिक्री वितरणमा रोक लगाइएको । २ सय ६० बेरा दानामा उत्पादन र उपभोग्य मिति नखुलेकोले बिक्री वितरण गर्न रोक लगाइएको गैह्रले बताए । प्रशासनले उद्योगलाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । गैह्रेका अनुसार भ्याली फिडलाई पनि थप कारबाही हुन सक्नेछ । बिक्रीमा रोक लगाइएको दानाको सम्बन्धमा कागजात पत्र हेरेपछि निर्णय लिइने उनले बताए ।

अनुगमन टोलीले औद्योगिक क्षेत्रकै हेटौंडा दुग्ध वितरण आयोजना, खजुरीमा तथा एन्टारटिक बिस्कुट उद्योगमा अनुगमन गरेको छ । हेटौंडा दुग्ध वितरण आयोजनामा ठूलो समस्या नदेखिएको गैह्रेले जानकारी दिए । आयोजनामा सरसफाईमा कमजोरी देखिएको र पुरानो संरचना भएकाले झ्याल ढोकामा खिया लागेका कारण सरसफाई गर्न निर्देशन दिइएको उनले बताए ।

एन्टारटिक बिस्कुटमा सरसफाईमा कमजोरी दिएकोले सचेत गराइएको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डा। क्षितिज श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चलगायतका प्रतिनिधिको सहभागिता थियो । अत्यधिक मुल्यबृद्विपछि उपभोक्ताको दबाबमा महिनौपछि प्रशासन र खाद्यले बजार तथा उद्योग अनुगमन गरेको थियो ।


Author

थप समाचार
x