बागमती

सामुदायिक कुकुरलाई रेबिज खोप अभियान

इकागज |
असोज ९, २०७९ आइतवार २०:१ बजे

मकवानपुर- विश्व रेबिज दिवस २०७९ को अवसरमा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने अभियान अन्तर्गत हेटौंडामा ११० वटा कुकुरलाई खोप लगाइएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको सहकार्यमा रेबिज सप्‍ताह कार्यक्रम अन्तर्गत कुकुरलाई खोप लगाउने अभियान सुरु गरिएको हो ।


विज्ञ केन्द्रले असोज ६ देखि १२ गतेसम्म यो अभियान जारी राख्ने जनाएको छ । कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका वार्ड नं २, र १० वडामा सामुदायिक रुपमा छाडिएका ५० वटा कुकुरहरूमा रेबिज रोगविरुद्वको खोप लगाइएको केन्द्रका सहायक स्तर पाँचौ प्रदीप सापकोटाले बताए ।

'आफ्नो टोलमा सामुदायिक कुकुरहरू नियन्त्रणमा लिएर कसैले बोलाएमा हामी त्यहीँ पुगेर कुकुरलाई रेबिजविरुद्ध खोप लाउने छौ,' सापकोटाले भने, 'खोप लगाएको कुकुरलाई विशेष चिन्ह लगाउँछौ|, ताकी त्यो कुकुरले टोकी हालेमा रेबिजविरुद्धको खोप लगाएको कुकुर भनेर ढुक्क हुने अवस्था बनोस्।'

छाडा कुकुरहरूद्वारा रेबिज रोग फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो खोप लगाइएको उनले बताए । ६ गतेबाट सुरु गरिएको अभियान अन्तर्गत हालसम्म ११० वटा कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको छ ।

खोप लगाउने समूहले सामुदायिक कुकुरहरूलाई डग क्याचरको सहायताले नियन्त्रणमा लिएर रेबिजविरुद्धको खोप लगाउने गरेको सापकोटाले बताए । हालसम्म हेटौंडाको बसपार्क, हेटौंडा ४ कर्रा, बसस्खण्डी मन्दिर परिसरमा खोप लगाइएको केन्द्रले जनाएको छ । रेजिन रोग उन्मुलन अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो ।


Author

थप समाचार
x