बागमती

चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु, एक घाइते

इकागज |
असोज १०, २०७९ सोमबार ६:३९ बजे

सांकेतिक तस्बिर

चितवन- चितवनमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका भरतपुरका एक व्यक्तिको जंगली बँदेलको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरंगेका ४० वर्षीय दिपक विक रहेका छन् ।

असोज ७ गते बिहान ६ बजेतिर मर्निङवाक गर्न घरबाट निस्किएका विकलाई जंगली बँदेलले एक्कासी आक्रमण गरेको थियो ।


बँदेलको आक्रमणबाट घाइते भएका विकको भरतपुर अस्पतालमा उपचार भइरहेकोमा आइतबार बिहान करिब ३ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । विकको पेटलगायत विभिन्न भाटमा गहिरो चोट लागेको थियो ।

त्यस्तै, नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरी जंगलमा टिप्परले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो करिब ३:२० बजेको समयमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका तनहुं देवघाट गाउँपालिका–५ बस्ने ५२ वर्षीय बिक्रम तामाङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

टिप्पर र टिप्पर चालक सिन्धुली कमलामाई नगरपालिका बस्ने २९ वर्षीय सुमन बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता अधिकारीले जानकारी दिए ।

त्यसैगरी गैंडाको आक्रमणबाट रत्ननगर नगरपालिका–६ सौराहाका ५५ वर्षीय बिसुन महतो गम्भीर घाइते भएका छन् । आज साँझ करिब ७ बजेको समयमा घरबाट १०० मिटरको दुरीमा महतोलाई गैंडाले आक्रमण गरेको प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । महतोको अनुहार र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x