बागमती

खानेपानी र ढल निर्माणको योजना बनाउँदै हेटौंडा

इकागज |
असोज १०, २०७९ सोमबार १३:२२ बजे

मकवानपुर । हेटौंडा उपमहानगरपालिका खानेपानी र ढल निर्माण योजनाकाे तयारीमा रहेकाे छ । बढ्दाे शहरीकरणसँगै व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको हाे ।

हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा भएकाे छलफलमा व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा रहेकाे बताइएकाे हाे । एसियाली बिकास बैंकको सहयोग तथा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको जनाएकाे छ ।


आयोजनाअन्तर्गत सन् २०५५ सम्मको डिपिआर योजनासहित शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहोर व्यवस्थापन र व्यवस्थापनको बिषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले जमिन वर्गीकरणको कामलाई रोक्दै एकीकृत व्यवस्थित शहरको निर्माण र विकासमा अघि बढ्ने बताइन् ।

उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताइन् । उनले भनिन् ‘अब हुने बिकासको काममा यसअघि लगानी भएका पूर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ ।’ उनले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै विकासको काममा अघि बढ्ने तयारीमा रहेको बताइन् ।

कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको वितरण, आवश्यक पूर्वाधार र व्यवस्थापन सम्बन्धमा बताएका थिए । बिष्टले अहिलेसम्म बोर्डले २२ वटा डिप बोरिङ, ७ वटा.समवयलवाट उत्पादन भएको पानी २२ हजार २ सय ५० धारामार्फत् खानेपानीको वितरण भैरहेको बताए । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक वितरण गर्दै आएको उनले जानकारी दिए ।

व्यवस्थित ढल र खानेपानीको व्यवस्थापनमा परामर्शदातासहितको टोलीले हेटौडा उपमहानगरपालिकाकाे विकसित हुँदै गरेका वडामा निर्माण हुने भवन र पूर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरेका छन् । छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x