बागमती

‘नेताहरु भोट लिन्छन्, समस्या सुन्दैनन्’

इकागज |
असोज १०, २०७९ सोमबार १५:४० बजे

मकवानपुर ।  मकवानपुरस्थित मनहरी गाउँपालिकाकी ५० वर्षीया कान्छीमाया बोटेले आफ्नो जीवन कालमा पटक–पटक मतदान गरेकी छिन् । पटकैपिच्छे मतदान गर्नु पहिले राजनीतिक दलका ठूला नेतादेखि कार्यकर्ताहरुसम्म उनलाई भेट्न घरैमा आउँछन् । 

कान्छीमायालाई मात्रै हैन, चुनावको पूर्वसन्ध्यामा आउने नेताहरु सबैका घरघर पसेर नमस्कार गर्छन्, र भोट माग्छन् ।


“चुनाव लागेपछि कहिल्यै नदेखेका मान्छेहरु हाम्रो बस्तीमा आउँछन्, मीठा मीठा कुरा गर्छन्, त्यसपछि फर्केर उहाँहरु कहिल्यै यहाँ देखापर्नुहुन्न” स्थानीय बबिता बोटेले भनिन् । आफूहरुलाई हात जोडेर भोट मागेको देख्दा आफ्नो पीडा र समस्या साथ दिने उहाँ नै होला भन्ने लाग्ने गरेको बताउँछिन् बबिता । “चुनावपछि त हामीले उहाँकै अफिस पुगेर नमस्कार गर्दा नि फर्काउनु हुदैन, समस्याको कुरो त सबै बिर्सनुहुन्छ” बबिताले भनिन् ।

माछा मारेर गुजारा चलाउँदै आएका यो समुदायलाई वर्षौदेखि आवासको समस्या छ । तीन वर्ष पहिले बागमती प्रदेश सरकार र स्थानीय मनहरी गाउँपालिकाको सहयोगमा यो बस्तीमा घर नभएका १४ परिवारलाई आवास निर्माण गरिदिने भनिएपछि ५ घरमात्रै बने । आवासविहीन अन्य ९ परिवारलाई पनि चाँडै घर बनाइदिने घोषणा गरेको प्रदेश सरकारले हालसम्म काम अघि बढाएको छैन । 

“उहाँहरुको बोलीमा परेर हामीले धेरै भोट दियांै, तर हामीलाई जहिले पनि आशा मात्रै देखाइयो” स्थानीय संगीता माझीले भनिन् । “हाम्रो सवाल नै सकारको सवाल भन्नेहरु, हामीले राखेको गुनासो नै सुन्न चाहनुहुदैन” संगीताले भनिन् ।

मनहरी गाउँकार्यपालिका सदस्यसमेत रहेकी कान्छीमाया ¬माग्ने आफै स्थानीय तहमा पुदा समेत बोटे समुदायको लागि काम गराउन नसेकेको बताउँछिन् । पहिलो माग्ने ठाउँमा थिएँ, धेरै पटक माग गरियो, तर अब दिने ठाउँमा छु, मसँग अरुले गुनासो गर्नुहुन्छ पालिकाले कुरा सुन्दैन” उनले भनिन् ।

१० धुर जग्गामा २ कोठे घर बनाएर बासको व्यवस्था सरकारले गरिदिए पनि अन्य बनकरीयाहरु अझै समस्या मै रहेको कान्छीमायाले बताइन् । राप्ति खोलामा माछा मारेर गुजारा गर्दै आएको यी बोटे समुदायलाई यसवर्ष पर्सा वन्यवन्तु आरक्षले माछा मार्ने इजाजत पत्र नवीकरण नगरेको कारण समस्या भएको उनले बताइन् ।

वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट ३५ किमी पश्चिम मनहरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने यो बोटे बस्तीमा रोजगारी नहँुदा युवाहरु तास खेलेर दिन बिताउँछन् ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएपछि यो बस्तीमा नेता तथा कार्यकर्ताहरू देखिन थालेका हुन् । चुनाव नजिकिएपछि नेताहरुले यस समुदायको अभावमा साथ दिएझैं गर्न थालेका छन् । यी बस्तीको दुःखमा आफ्नो साथ रहेको आभाष दिलाउन नेताहरू लागिपरेका छन् । 

राजनीतिक चासो र चेतना कमै भएका बोटे समुदायलाई भोट बैंकको रूपमा प्रयोग गर्न निर्वाचनताका सबैजसो दलका नेता तथा कार्यकर्ताहरू आईपुग्छन् । तर, चुनावी तयारीको क्रममा आफूहरूसँग वाचा गरिएका सवाल नेताहरूले सत्तामा पुगेपछि बिर्सने गरेको बोटे समुदायको गुनासो छ । 

मनहरी गाउँपालिका ७ स्थित बोटे बस्तीमा झण्डै ९० भोट रहेको मनहरी गाउँकार्यपालिका सदस्य कान्छीमाया बोटेले बताइन्। मनहरी गाउँपालिकाको राई बस्ती, वनकरीया तथा चेपाङ बस्तीका भोटलाई नेताहरुले जित्ने आधार मात्रै बनाउने गरेको कान्छीमायाले बताउँछिन् ।

चुनावको मिति नजिकिँदा यस्ता समुदायको समस्या राष्ट्रिय सवाल भएको बताउने गरिए पनि जब चुनाव सकिन्छ, यी बस्तीका समस्या यहीँको मात्रै हुन्छन्, नेताहरूले बिर्सन्छन् । ‘दलका नेताहरूलाई सत्तामा पु¥याउनका लागि सर्वसाधारण कहिलेसम्म भर्‍याङ बनिरहनु पर्ने ?’ स्थानीयको प्रश्न छ ।

तर यसवर्ष भने वाग्मती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई पक्की आवास निर्माणको लागि सरकारले १० करोडको लगानी गर्ने भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण गरिने भएको हो ।

उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि संघीय सरकारको पाँच करोड तथा वाग्मती प्रदेश सरकारको पाँच करोड बजेट छुटयाइएको प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वनकारिया समुदायलाई २४ घर, बोटे जातिलाई ५०  घर तथा चेपाङलाई १७६ घर निर्माण गरिने भएको हो । एउटा घर निर्माणका लागि चार लाख उपलब्ध गराइनेछ । सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक तथा मूल्य मान्यता सुहाउँदो किसिमले आवासको नक्सा भौतिक पूर्वाधार मन्त्रालयले नै गर्नेछ । पहिरो र सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, ऐलानी जग्गामा घर भएकालाई प्राथमिकतामा राखेर घर निर्माण प्रदेश सरकारले जनाएको छ ।
 


Author

थप समाचार
x