बागमती

१० जिल्लामा ५२ वटा नागरिक सहायता कक्ष स्थापना

इकागज |
असोज १०, २०७९ सोमबार २१:३ बजे

मकवानपुर- बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप सोमबार यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढी भिडभाड तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने हुँदा बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याइएको हो ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङ जिल्लामा ६, नुवाकोट जिल्लामा ६, रसुवा जिल्लामा ६, काभ्रे जिल्लामा ९, सिन्धुपाल्चोक जिल्लामा ५, दोलखा जिल्लामा १, रामेछाप जिल्लामा २ र सिन्धुली जिल्लामा ५ वटा गरी ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय जानकारी दिएकाे छ ।


बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढी भिडभाड र आवतजावत हुने स्थानहरूमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १ सय ५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ । प्रवक्ता रेग्मीले ‘यात्रा गर्दा तथा आफूलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखी आफ्नो समस्या समाधान गर्न समेत अनुरोध गरेका छन् ।


Author

थप समाचार
x