बागमती

गस्ती गर्ने आमा समूहलाई वडाको सहयोग

इकागज |
असोज १४, २०७९ शुक्रबार २०:१४ बजे

मकवानपुर- समाज सुधारको अभियान लिएर रात्रिकालीन गस्तीमा हिँड्ने महिलालाई वडा कार्यालयले सहयोग गरेको छ ।

मकवानपुरको हेटौंडा–९ को पुष्पाञ्जलि आमा समूहलाई वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको हो । गस्तीमा हिँड्ने क्रममा सहयोग पुर्‍याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राति हिँड्न सहज गराउनका लागि ज्याकेट, जुत्ता, टर्च, सिटीसहित सामान्य उपचारका लागि स्वाथ्य सामग्रीसहितको बक्स हस्तान्तरण गरेको हो । 


वडा कार्यालयले महिला समूहका लागि खरीद गरेको सामग्री हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले महिला समूह अध्यक्ष कल्पना थापा मगरसहित समूहमा आबद्ध रहेका ४० जनालाई हस्तान्तरण गरिन् । 

महिला समूहले प्रत्येक दिन/रात वडा क्षेत्रमा गस्ती गर्दै आएका छन् । महिला समूहलाई सामग्री हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले समाज सुधारका लागि महिला समूहले देखाएको तत्परताको प्रशंसा गरिन् । 

उनले उपमहानगरका सबै वडाहरूमा यस्तो अभियान चलाउन जरुरी रहेको उल्लेख गरिन् । लामो समयदेखि नियमित र निरन्तर गरेको अभियानले समाज सुधारमा महत्वपूर्ण काम भएको उनकाे भनाइ छ । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीले आमा समूहको कामले वडामा रात्रिकालीन यात्रामा सहज भएको बताए ।

उनले वडामा रहेको बेथितिलाई आमा समूहको गस्ती अभियानले रोकेको जानकारी दिए ।


Author

थप समाचार
x