बागमती

चौथो हार टार्ने दाउमा डिना

इकागज |
कात्तिक २३, २०७९ बुधबार ११:३२ बजे

मकवानपुर- मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरका उम्मेदवारहरूले आ–आफूले जित हासिल गर्ने दाबीका साथ चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचार प्रसारको क्रममा समेत आफू उम्मेदवार हुनुका कारणसहित जितपछि विकासका कामको आश्वासनसमेत दिने गरेका छन् ।

स्थानीय मतदाताहरूको मागसमेत भूगोल सुहाउँदो रहेको छ । तर उम्मेदवारहरूको चुनावी आश्वासान र स्थानीयका माग विपरित रहेका छन् । स्थानीय आधारभूत आवश्यकता पुरा गर्न माग गरिरहँदा उम्मेदवारहरू विकास पूर्वाधारका कुरामा जोड दिइरहेका छन् ।


यसैबीच मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका महालक्ष्मी उपाध्याय डिनाले जिल्लाको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुन् ।

उपाध्याय उम्मेदवार बनेसँगै मकवानपुर १ मा उनको चर्चा परिचर्चा बढ्दै गएको छ । उनको यो चौथो पटक चुनावी प्रतिस्पर्धा पनि हो । विद्यार्थीकालबाटै कांग्रेसको राजनीतिमा आवद्ध भएकी उनी पार्टीमा पनि उत्तिकै सक्रिय र प्रभावशाली नेतृ मानिन्छन् । सोही सक्रियताका कारण उहाँ समानुपातिकतर्फको पहिलो नम्बरको दावेदार हुँदा पनि त्यसलाई त्यागेर प्रत्यक्षतर्फ उम्मेदवार भएकी हुन् ।

डिनाले मकवानपुर–१ को जनताको मतबाट अनुमोदन हुन विभिन्न क्षेत्रलाई समेटेर आफ्नो चुनावी संकल्पहरू पनि सार्वजनिक गरेकी छिन् । यसअघिका निर्वाचनमा मकवानपुर-२ बाट चुनावमा पराजित उनी यस पटक सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनतासँग प्रत्यक्ष जोडिएर मकवानपुरको विकास र समृद्धिको कामका लागि चुनावी मैदानमा आएको बताउँछिन् ।

जनताको मत जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने उनको दाबी छ । 'विगतको जस्तो आगामी निर्वाचनमा चुनौतिको महसुस गरेको छैन' डिनाले भनिन् ‘आगामी निर्वाचनमा मलाई कुनै चुनौती छैन । भारि मतका साथ चुनाव जित्छु ।' विगतमा आफूले गर्न चाहेका तर सत्ता विहीन हुँदा सम्भव नभएका अधुरा कामहरू पुरा गर्ने उपाध्यायको लक्ष्य रहेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा सहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

लामो समय कम्युनिस्टहरूले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाई छ । ‘सडक पुल निर्माण विकासको मेरुदण्ड तर त्यो नै विकास होइन, जनताको आवश्यकता र उनीहरूलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो’, उनले भनिन् ‘हामी विकास-विकास भन्छौँ अनि बाटो बनाउँछौ, पुल बनाउँछौ तर आम जनताको स्वास्थ्यको पहुँच कतिको छ ? हामी बिर्सन्छौँ । शिक्षाको पहुँच कस्तो छ ? भन्‍नेबारे हाम्रो ध्यान नै पुग्दैन । जनताको जीवनस्तरसँग जोडिएका कुराहरू हामीले सम्बोधन गर्न सकेका छैनौँ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरूले राज्यबाट पाउने सेवामा सहज पहुँच पुर्याउनु मेरो मुख्य काम हो ।’

जनताको दैनिकीसँग जोडिएका कतिपय कुराहरूमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिन नै समस्या भइरहेकाले त्यसको परिवर्तन/संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको डिनाले बताइन् । ‘म यस्तो गर्छु उस्तो गर्छु । यो बनाउँछु त्यो बनाउँछु भन्दिन । म सामान्य काम गर्छु जसले जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्छ । महिलाहरूलाई अवसर दिएर अघि बढाउँछु । शिक्षाबाट बञ्चित भएकाहरूलाई विद्यालयसम्म जाने वातावरण कानुनतः निर्माण गर्छु । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मेरो भूमिका हुन्छ’, उनले भनिन् ।

हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोडिदैँ युवाहरूको लागि रोजगारको अवसर सृजना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको उनी बताउँछिन् । समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तार, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्‍न प्रदेश राजधानी बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उनको दाबी रहेको छ ।

उनले आर्थिक समृद्धिका लागि पनि आफूले पार्टी र सदनबाट महत्वपूर्ण भूमिका खेल्ने बताइन् । मकवानपुरको भूगोलको पहिचान गरेर विकास र समृद्धिको नमूना निर्माण गरिसकेकाले त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।


Author

थप समाचार
x