बागमती

ओलीको गुणगान गाउँदै कमल थापा

इकागज |
कात्तिक २६, २०७९ शनिबार २१:१० बजे

मकवानपुर- मंसिर ४ को निर्वाचनमा उम्मेदवारहरू घरदैलो तथा प्रचारप्रसारमा व्यस्त छन् । मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ । राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने नेताहरूका कारण रोचक हुने निर्वाचनमा उम्मेदवार भने एजेन्डाविहीन प्रचारप्रसारमा व्यस्त देखिन्छन् । 

स्थानीय आवश्यकता र मतदाताको इच्छा एकातर्फ रहेको सन्दर्भमा उम्मेदवारहरू पार्टी वा पार्टी नेताको बखान गर्न कि त प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्नमै समय खर्चिरहेका छन् । 


शनिबार राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको खुलेर प्रशंसा गरेका छन् । एमालेको सूर्य चिह्नबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार थापाले एमाले अध्यक्ष केपी ओली राष्ट्रियता बोक्न सक्ने आँटिलो नेता भएको बताए । नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा लिएका ऐतिहासिक निर्णयका आधारमा एमाले अध्यक्ष ओली राष्ट्रवादी नेता भएको थापाले बताए । 

शनिबार क्षेत्र नम्बर १ अन्तरगतकाे बकैया गाउँपालिकामा आयोजित चुनावी सभा र भेलामा थापाले ओलीजस्तो एउटा दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले मात्र देशलाई संकटबाट मुक्त तुल्याउन सक्ने बताए । एक समय सरकारमा रहेर सँगै काम गरेको बताउँदै उनले उक्त समयमा आफूहरूले राष्ट्र र राष्ट्रियताको सवालमा गरेका काम अहिले पनि सम्झन लायक रहेको जिकिर गरे ।

थापाले भने, 'केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिएँ । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।' 

थापाले ओलीले सरकारमा रहेका बेला गरेका गरेका दुई वटा कामका लागि ओलीलाई सधैँ देशले सम्झिने बताए । मधेसमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम ओली गरेको उनले बताए। त्यसैगरी लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुण लगाएको समेत उनले जानकारी दिए । त्यसैले राष्ट्रवादी शक्तिले आउँदो चुनाव जित्नुपर्ने उनकाे भनाइ छ । 

अहिलेको निर्वाचनले विदेशीकाे इसारामा चल्ने कठपुतली सरकार बन्नबाट रोकेर राष्ट्रवादी सरकार गठन गर्ने अभिभारा एमालेको नेतृत्वमा दिने थापाको भनाइ थियो ।


Author

थप समाचार
x