बागमती

टिकट पाएकामध्ये बागमती प्रदेश सरकारका एक मन्त्री पराजित

इकागज |
मंसिर १३, २०७९ मगलवार १७:२५ बजे

फाइल फोटो

हेटौंडा - बागमती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित भएका छन् । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन् । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराजित हुनेमा दाहाल एक्ला हुन् । चितवन निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा निर्वाचनमा दाहाल पराजित भएका हुन् । सो क्षेत्रबाट नेकपा एमालेका कृष्णप्रसाद सिलवाल विजयी भए ।  दाहाल सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । 

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पाण्डे धादिङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भए । प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीमध्ये काठमाडौँ निर्वाचन क्षेत्र नं १ (१) बाट संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मात्र टिकट पाएका थिए । श्रेष्ठ सो क्षेत्रबाट निर्वाचित भएक छन् । उनी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएक थिए । 


टिकट नपाउने कांग्रेसका प्रदेश मन्त्रीमा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, स्वास्थ्यमन्त्री निमा लामा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ हुन् । प्रदेश सरकारमा कांग्रेसबाट तीन राज्यमन्त्रीले पनि टिकट पाएनन् ।  भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि टिकट पाएनन् । 

यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल धादिङ निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित भएका छन् । । यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर पनि निर्वाचित भए ।  दुवै जना सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार भई निर्वाचित भएका हुन् । यसैगरी युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल पनि माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । रासस


Author

थप समाचार
x