बागमती

सुकुम्बासीहरूलाई आफ्नोविरुद्ध प्रयोग नगर्न ओलीलाई बालेनको चेतावनी

इकागज |
मंसिर १३, २०७९ मगलवार १९:५० बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह `बालेन`ले सुकुम्बासीहरूलाई आफ्नो विरुद्ध प्रयोग नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी बस्तीमा महानगरले तमासा गरेको प्रतिक्रिया दिएपछि शाहले ओलीलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा ओलीलाई पत्र लेख्दै भनेका छन्, `अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।` 


`मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे`, शाहले लेखेका छन् ।  

ओलीले सुकुम्बासीहरूलाई गुठी आन्दोलनजस्तो आफ्नो स्वार्थ विपरीत कुराहरूमा प्रयोग गरेको शाहले आरोप लगाए । उनले ओलीलाई नेवा सभ्यता, नदीनालाको कुनै माया नभएको बताए । `माया हुँदो हो त सुनधारा सक्काएर सेतो टावर किन ठड्याउनु भयो`, उनले प्रश्न गरेका छन् । 

मंगलबार महानगरले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो । सो क्रममा सुकुम्बासी र महानगर प्रहरीबीच झडप भएको थियो । 


Author

थप समाचार
x