बागमती

ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

इकागज |
मंसिर १९, २०७९ सोमबार १७:३१ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ ।

सोमबार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले सुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन् । उनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने उनले जिकिर गरे ।


आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उनको भनाइ छ । 

ललितपुर महानगरपालिकाले १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरूलाई सम्मान तथा प्रोत्साहन समेत गरेको थियो । स्वयंसेवकहरूलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड-१९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरे ।

निरन्तर रूपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरूको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गरे । महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेवकहरू भएको बताए । उनले स्वयंसेवकहरूले गरेको प्रभावकारी कामहरूका कारण नै आफूलाई मत दिएर जिताएको उनको भनाइ छ ।

स्वयंसेविकाहरूको कामका कारण नै स्थानीय तहहरू मध्ये ललितपुर महानगरपालिका उत्कृष्ट हुन पुगेको उनले बताए । आगामी दिनमा पनि सेवा र त्यागको भावना राख्दै काग गर्न उनले आग्रह गरे ।
 


Author

थप समाचार
x