बागमती

यस्तो बन्दैछ वाग्मतीकाे सचिवालय

सांसदलाई स्वागत गर्न अनावश्यक खर्च

इकागज |
मंसिर २०, २०७९ मगलवार १८:४७ बजे

मकवानपुर । संघीय संरचना निर्माणपछिको प्रदेश सरकारको पहिलो ५ वर्षे कार्यकाल सकिएको छ । बागमती प्रदेश सरकारले आफ्नो भौतिक संरचनाको टुङ्गो अझै गर्न सकेको छैन । पहिलो ५ वर्षको कार्यकालमा प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लाग्यो । अहिले पनि बागमती प्रदेशको मन्त्रालयहरु कुनै भाडामा त कुनै पुराना जिल्ला स्तरको कार्यालहरुमा छन् ।

दोस्रो कार्यकालको लागि आम निर्वाचन २०७९ सकिएको छ । अब बन्ने प्रदेश सरकारमा कस्तो सत्ता समीकरण होला भन्ने चर्चाको विषय बनेको छ । यता
प्रदेशसभा सचिवालयका कर्मचारीहरुलाई नयाँ सांसदको स्वागतको लागि चटारो छ ।

बागमती प्रदेश सरकारको पुरानै संसद भवन झ्वाट्ट हेर्दा नयाँ जस्तै बनेको छ ।  संसद सचिवालयको कर्मचारीहरु अहिले दिनरात नभनी खटिएका छन् । प्रदेशसभाको मुल गेटदेखि सभामुख, उपसभामुखको कार्यकक्ष, सत्ता पक्ष र प्रतिपक्षको लागि तयारी गरिएको सिट व्यवस्थापनलाई आकर्षक बनाउनतर्फ कर्मचारीहरु लागि परेका छन् ।

संसदका विभिन्न समितिहरुका लागि भने नयाँ भवन तयार पार्ने गरी काम भइरहेको छ । संसदीय दलका कार्यालयहरु पनि केही मर्मत गर्ने काम जारी छ । विशेषगरी प्रदेशसभाको हललाई मर्मत गरेर नयाँ रुप दिन लागिएको बागमती प्रदेशसभाका सूचना अधिकारी सुन्दर बास्कोटाले जानकारी दिए ।

मकवानपुरको हेटौँडा–१० मा रहेको प्रदेशसभा भवनलाई मर्मत, रङरोगन तथा व्यवस्थित पारिने क्रममा रहेको बास्कोटाले बताए । प्रदेशसभा सदस्यहरुलाई सहज हुनेगरि बस्ने कुर्सीहरुको व्यवस्थापन तथा हलमा फल्स सिलिङको काम जारी रहेको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी बास्कोटाले बताए ।
सभामुख, उपसभामुखको कार्यकक्षामा नयाँ डेकोरेसन, नयाँ क्यान्टिनको व्यवस्थापनको काम पनि जारी रहेको उनले बताए । नयाँ डेकोरेसनबाट नयाँपन आउने भन्दै कर्मचारीले प्रदेशसभा बैठक आह्वान हुनुअघि नै प्रदेशसभा भित्रका सबै काम सक्ने तयारी थालेका छन् ।



चाकडीको रङ्ग

प्रदेश सभा सचिवालयका कर्मचारीहरुले प्रदेश सांसद आउनुअघि सचिवालयलाई व्यवस्थित बनाउने नाममा अनावश्यक खर्च गरेको देखिन्छ ।


सचिवालयले अहिले कार्यालय मर्मत गर्नको लागि मात्रै करिव ७ लाख खर्च गर्दैछ । प्रदेश सरकारको पहिलो कार्यकाल जहाँ बित्यो त्यही भवनको आडैमा नयाँ संरचना निर्माणाधिन छ । तत्कालीन क्षत्रिय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन हुँदै आएको प्रदेश सभा सचिवालयमा प्रकाश तथा ध्वनी व्यवस्थापनमा भने केही कठिनाई थियो ।

यद्यपि अहिले सचिवालय व्यवस्थापनको नाममा जे जे खर्च हुँदै छ, त्यो अनावश्यक ठाउँमा हुँदै छ । पुरानो संसद सचिवालयकै छेउमा प्रदेशसभाको लागि हल निर्माण भइरहेको छ । आगामी जेठ मसान्तसम्ममा उक्त भवन निर्माण हुने म्याद रहेको छ ।

तर यो ५ महिनाको लागि पुरानो भवनलाई “व्यवस्थापन”को नाममा अनावश्यक खर्च गरिएको छ । पाँच वर्षको अन्तरालमा कार्यालय र कोठाहरुमा रङ्गरोगन आवश्यक भए पनि अहिले पुरै कार्यकक्षामा नयाँ डेकोरेसन, नयाँ क्यान्टिनको व्यवस्थापनमा अनावश्यक खर्च भएको हो । पक्की घरमा फल्स सिलिङ राख्न थालिएको छ । ५ वर्ष अघि जडान गरिएको पंखा तथा कुर्सी टेबलहरु सबै फेरिएका छन् । यो खर्च आवश्यक भन्दा पनि चाकडीको लागि गरिएको देखिन्छ ।



बागमती प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ३ वटा सरकार फेरियो  तर, कुनै पनि सरकारले प्रदेशसभा भवन बनाउन चासो दिएनन् ।  प्रदेशसभा बैठकमा बेलाबखत प्रदेशसभा सदस्यहरूले व्यवस्थित सभा हल बारेमा प्रश्न उठाउने गरे पनि सरकार र प्रदेशसभा सचिवालयले प्राथमिकतामा नराख्दा प्रदेशसभा सदस्यहरूको दोस्रो काल यहीबाट सुरु भएको छ ।

गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनबाट बागमती प्रदेशको ६६ प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचित र अन्य ४४ जना समानुपातिकबाट आउने छन् । हालसम्म प्रत्यक्ष तर्फको सांसदहरुको  टुङ्गो लगभग लागेको छ । भने समानुपातिक तर्फको सिट बाँडफाँट बाँकी छ ।

आगामी पुसको पहिलो साता प्रदेशसभा बैठक बस्न सक्नेगरी संसद सचिवालयले तयारी गरिरहेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँची सगुन पारामाउन्ट जेभीले निर्माणको काम गरिरहेको छ।

२०७९ को वैशाख १ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रदेशसभा सचिवालय परिसरमै निर्माण सुरु भएको ट्रस्ट सभा हल निर्माण कार्य हालसम्म ८० प्रतिशत मात्रै सम्पन्न भएको छ र आगामी जेठ मसान्तसम्मको लागि म्याद थप गरिएको छ ।

२०७७ साल कात्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपैयाँमा प्रदेशसभा भवन निर्माणको सम्झौता भएको थियो। भवनको बागमती प्रदेशसभाको तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले ०७७ मंसिर १० गते शिलान्याससमेत गरेका थिए।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेको अनुसार नेपालमा एलसी बन्द हुनु, कोरोना महामारी फैलिनुजस्ता कारण देखाउँदै निर्माण कम्पनीले काम ढिलाइ गरेको थियो। तर, अबको दुई महिनामा भने प्रदेशसभा भवनको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले बताएको उनको दाबी छ।

प्रदेशसभाको नयाँ भवन निर्माण कार्य भइसकेको भन्दै उनले अब भवन फिनिसिङको मात्रै काम बाँकी रहेको बताए। सभाहलको क्षमता २ सय ५० जनाको रहेको छ। तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयले करिब ६० जना क्षमताको तालिम हल निर्माण गरेको थियो ।


Author

थप समाचार
x