बागमती

ठूला दलहरूले संविधानमाथि नै खेलबाड गरेकाले जनताले विकल्प खोजे : दुर्लभ थापा

इकागज |
मंसिर २१, २०७९ बुधबार १३:२४ बजे

भक्तपुर- नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरूले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिवद्धत समेत व्यक्त गरे । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाई थियो ।


सांसद थापाले ठूला राजनीतिक दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरूको विकल्पको खोजी गर्न पुगेको जिकीरसमेत गरे । उनले जनादेश विपरितका गतिविधि नगर्न पनि दलहरू सचेत हुनुपर्ने आवश्यक्ता औल्याए ।

‘जनादेश विपरित जाने दलहरू समाप्त हुनेछन । हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन । जनताले दिएको म्यान्डेट अनुसार अघि बढौं । विशेषगरी मूलधारका राजनीतिक दलहरू एक ठाउँमा बसौं' सांसद थापाले भने 'सरकारको बारेमा छलफल गरौं, बहस गरौं । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौं । र, अब यो मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । तर, संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिवद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ ।’

त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरूसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गरे । उनले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गरे ।


Author

थप समाचार
x