बागमती

पुष २४ गतेबाट पाँचौँ बागमती गोल्डकप, विजेतालाई ८ लाख नगद र ट्रफी

इकागज |
पुस १६, २०७९ शनिबार ११:५६ बजे

मकवानपुर- मोफसलको सबैभन्दा ठूलो राशि पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।


प्रतियोगिताको पाँचौँ संस्करण पुष २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो । 

बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए । 

'फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना प्रतियोगिताको मुख्य उद्देश्य हो' श्रेष्ठले भने ।  खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले  नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । 

प्रतियोगिताको लागत करिब ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । बागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भइरहेको बताइएको छ । 

प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाँचौँँ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । बागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।


Author

थप समाचार
x