बागमती

निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कंडेलको उम्मेदवारी

इकागज |
माघ १६, २०७९ सोमवार २१:५ बजे

मकवानपुर- निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । संघको माघ २८ र २९ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएकोले कंडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उनले हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका हुन् । कंडेल संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष छन् ।


‘निर्माण व्यवसायीको क्षेत्रमा रहेको समस्याबारे म अवगत नै छु । अहिले देशव्यापी रूपमा रहेको आर्थिक मन्दीबाट हाम्रो पेशा पनि अछुतो रहेको छैन,’ कंडेल भने, ‘ निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिको मारमा हामी सधैं परिरहेका छौं ।’

'लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले मैले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले उम्मेदवारी घोषणा गर्दै भने ।

२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका कंडेल  २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । कंडेलले हालसम्म तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । उनले सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गरेका छन् । कंडेल हाल मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष हुन् ।

कंडेलले सहमतिमा नेतृत्व चयन हुने सम्भावनाका कारण प्यानल घोषणा नगरिएको र सहमति नभएको खण्डमा चुनावमा जान आफू तयार रहेको बताए । संघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । 


Author

थप समाचार
x