बागमती

सहिदको सपना पूरा नभएको साहित्यकारको गुनासो

इकागज |
माघ १६, २०७९ सोमबार २१:२४ बजे

मकवानपुर- बागमती प्रदेशकाे राजधानी हेटाैंडाबाट प्रशारण भइरहेकाे रेडियो मकवानपुरकाे वार्षिकाेत्सव सुरु भएकाे छ । १०१ दशमलव ३ मेगाहर्जमा प्रशारण हुने रेडियो मकवानपुरकाे १३ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको हाे ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन सोमबार सहिद दिवसको अवसरमा ‘सहिदको सपना र आजको नेपाल’ विषयमा साहित्यकारसंग अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम भएको हाे । रेडियो मकवानपुरमा भएको कार्यक्रमका सहभागी साहित्यकारले अझै सहिदको सपना पूरा नभएको गुनासो गरेका थिए । सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले मुलुकको परिवर्तनका लागि सयौंले बलिदानी दिएपनि अझै जनताले सुखको अनुभव गर्न नसकेको बताए । ‘संविधान पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । जनताले परिवर्तनको प्रत्याभूति गर्न पाएका छैनन्, महंगी, बेरोजगार र भ्रष्टाचार बढ्दो छ,' निखिलले भने, ‘सहिदको सपना पूरा गराउनेतर्फ राजनीतिक दल र राज्य लाग्नु आवश्यक छ ।’


यस्तै समालोचक एवम् साहित्यकार घनश्याम घिमिरेले केही हदसम्म समाज र व्यवस्था परिवर्तन भएपनि सहिदको सपना भने पूरा हुन नसकेको धारणा राखेका छन् । अहिलेकै अवस्थामा सहिदको आत्मसन्तुष्टि हुने अवस्था नरहेको भन्दै उनले जनताको मुहारमा हाँसो नभएको बताए । सहिद को हो भन्ने नै समस्या रहेको स्मरण गर्दै उनले भने, ‘राष्ट्र, समाज र परिवर्तनको लागि लडेकाहरू नै सहिद हुन् भन्ने बुझ्न जरुरी छ ।’

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले मुलुकको सकारात्मक परिवर्तनका लागि सहिदले बलिदानी दिएको भएपनि त्यसको कदर हुन नसकेको बताए । मुलुकमा विभिन्न नामको तन्त्र आएपनि देशले भने गति प्राप्त गर्न नसकेको उनले बताए । आँचल साहित्य कला पुञ्जका उपाध्यक्ष नीरा शर्माले मुलुकको विकास, समृद्धि एवम् परिवर्तन नै सहिदको सपना भएपनि त्यो पूरा हुन नसकेको बताइन् । अझै नेपालमा गाँस, बास, कपासको लागि आत्मदाह गर्नुपर्ने अवस्था रहेको भन्दै शर्माले दुःख व्यक्त गरिन् ।

यसैगरी प्रगतिशिल लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यले देश र जनताको लागि ज्यान नै दिनु सामान्य कुरा होइन भन्ने बुझ्न जरुरी रहेको औंल्याए । अब हुने सहिदका कार्यक्रमहरू कतै औपचारिकतामै सीमित हुने त होइन भन्दै उनले प्रश्न गरे । मुलुकमा राजाको छोरा नै राजा हुने प्रथाको अन्त्य भएपनि दुखी गरिबको अवस्था उस्तै रहेको आचार्यको भनाई थियो ।

रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरूले सहिदसँग सम्बन्धित कविता वाचन समेत गरेका थिए । रेडियाे मकवानपुरले २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी वार्षिकाेत्सव मनाउँदै छ । १७ गरे मंगलबार श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालय स्तरीय कविता प्रतियोगिता हुनेछ ।

यस्तै माघ २० र २१ गते रेडियो मकवानपुर कप फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत् नि:शुल्क स्वास्थ्य शिविर र २२ गते वार्षिकोत्सव समापन हुने रेडियाे संचालक समितिले जनाएकाे छ । समापन समाराेहमा दुई जनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ ।

कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले वार्षिकोत्सवको अवसरमा दुई जनालाई जनही नगद १० हजारसहित सामुदायिक सम्मान समेत प्रदान गर्नेछ ।


Author

थप समाचार
x