बागमती

पुल निर्माण : म्याद ४ महिना बाँकी, काम ४ प्रतिशत पनि भएन

२० महिनामा एउटा खाल्डो पनि पूरा नभएको गुनासाे

इकागज |
माघ २१, २०७९ शनिबार १७:५८ बजे

मकवानपुर- ठेकेदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला, एक/दुई हप्ता वा महिना ? तर, हैन मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मुटुमै रहेको एउटा पुल निर्माण गर्न ठेक्दा दिएको म्याद अबको ४ महिनामा सकिँदैछ । तर, काम भने ४ प्रतिशत पनि भएको छैन ।

उपमहनगरपालिकाको वडा न १ मा वर्षौंदेखि महाकालका रूपमा रहेको तुइन विस्थापित गरेर पक्की पुल निर्माण गर्न २ वर्षअघि दिइएको ठेक्का अन्तरगत हालसम्म एउटा खाल्डो खन्नु बाहेक काम भएको छैन । पुल निर्माण गर्ने भनेपछि तुइन त विस्थापित गरियो तर पुल बनेन । अहिले स्थानीयहरू समस्या झेल्दै आइरहेका छन् ।


हेटौंडा उपमहानगरपालिकाको लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणमा ढिलाई हुँदा स्थानीयहरूले दबाब दिन सुरु गरेका छन् ।

उपमहानगरपालिका १ स्थित लालकाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनले निर्माण व्यवसायी शिवशक्ति, सिद्धार्थ शिवम जे भी मकवानपुरसँग ठेक्का सम्झौता गरेको थियो ।

२०८० जेठ १७ मा कार्य सम्पन्न गर्ने गरी २०७३ जेठ १८ गते भएको सम्झौता अनुसार काम नहुँदा स्थानीयहरू मारमा परेका छन् । पुल निर्माणका लागि ८ करोड ४७ लाखमा भएको सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौता अनुसारको झण्डै ४० लाख बजेट बुझिसकेको छ तर काम अघि बढ्न सकेको छैन ।

२० महिना बितिसक्दा हालसम्म कामको सुरुवातको नाममा एउटा खाल्डो खनिएको छ । पुल निर्माण हुने भएपछि स्थानीयहरूले छोड्नु पर्ने जमिन छाडिसकेका छन् ।

'यहाँ छेउमा भएको घर, घट्ट हामीले हटाइसक्यौँ, पुलमा जोडिने बाटो १५ मिटर क्लियर गर्न कुनै समस्या भएन,' वडा अध्यक्ष सविन न्यौपानेले भने, 'सबै स्थानीयहरूले सहज वातावरणमा घर सारे, रोजिरोटी चल्दै आएका घट्ट झिके, बाटो विस्तार गर्न बिनामुअब्जा जग्गा छोडिदिएका छन्, यही पुल बन्न सकेन ।'

स्थानीय रूपमा आइपर्ने समस्याहरूमा समेत पूर्ण रूपमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासहित भइसकेको बेला ठेकेदारले काम नगर्दा स्थानीयहरू आवतजावतमा समस्या भएको उनले बताए । 'खोलामा जोखिपूर्ण काठको पुल छ, कुनै पनि समय बालबालिका घटनामा पर्न सक्छन्,' स्थानीय संघर्ष समिति अध्यक्ष विनोद पौडेलले भने ।

कानुनतः सम्झौता गरेर जिम्मेवारी दिएको कार्यसमेत नगरी नेपाल सरकारको कानुनलाई समेत मिचिएको मनोमानी ढंगले कामप्रति हेलचक्र्याइँ गरेको उनले बताए ।

यो पुल निर्माण नहुँदा यहाँबाट लालझाडी, मैनाटार, नकौली, लामीडाडा बांझोडाँडा र घ्याङसिङटार क्षेत्र सडक सञ्जाल राजमार्गसँग नजोडिँदा स्थानीयवासीहरू आजित भएको टोल विकास संस्थामा अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए ।

देशमै तुइन विस्थापन गर्ने सरकारको नीतिबमोजिम तुइन विस्थापन भइ र सोही स्थानमा बन्न लागेको पुल समयमा सम्पन्न नहुँदा दैनिक आवतजावत गर्न अप्ठ्यरो परेको अध्यक्ष तिमल्सिनाले बताए ।

यो पुल बन्दा ३० हजारभन्दा बढी जनताहरू प्रत्यक्ष लाभ लिन सक्नेछन् । यस क्षेत्रमा उत्पादन भएको कृषि उपज बजार ल्याउन असहज पुल अभावकै कारण समस्या भएको वडा अध्यक्ष न्यौपानेले बताए । आफूहरूले पटक-पटक ठेकेदार कम्पनीलाई झकझक्याउँदा २ पटकसम्म 'अब काममा रफ्तार बढाउने' लिखित सहमति भएको, तर त्यो दस्ताबेज मन्त्रालयमा थन्किने र काम अघि नबढ्ने समस्या भएको न्यौपानेलकाे भनाइ छ ।

'८ करोडको पुल निर्माण गर्न एउटा मिसेन ल्याएर यस्सो हल्लाउँदै हाम्रो आँखामा छारो हाल्ने काम भैरहेको छ, २० महिनामा एउटा खाल्डो पनि पूरा भएको छैन, यस्तो कम्पनीले कसरी काम गर्छ,' तिमल्सिनाले भने ।

अबको एक सातासम्म पनि काम सुचारु नगरिए मन्त्रालय घेराउ तथा राजमार्गमा चक्काजाम गर्नेसम्मको चरणबद्ध आन्दोलन गर्न चेतावनी स्थानीयवासीले दिएका छन् । विगतमा यहाँको राप्तिखोला तुइनबाट पार गर्दा पटक-पटक मानवीय क्षति भएको थियो ।

यसबारे प्रश्न गर्दा ठेकेदार कम्पनीका फिल्ड इञ्चार्ज विष्णु अर्यालले निर्माण अवधि थप गर्न माग गर्ने र अबको समयसीमाभित्र कुनै पनि हालमा काम सक्ने प्रतिक्रिया दिए ।

'हामीले यसअघि पुल निर्माणको काम गरेका थिएनौँ, एक हिसाबले हामीलाई मिसिनरी पार्टपुर्जाको पनि समस्या भयो, र केही आइडियाको पनि कमी भयो,'  उनले भने, 'हेटौंडामा उपलब्ध भाडाका सामान ल्याएर काम थालियो तर, प्राविधिक काम भनेजस्तो सहज छैन, अब चाँडौ कामले रफ्तार लिने छ ।'


Author

थप समाचार
x