बागमती

ठूला किसानलाई प्रदेश सरकारको अनुदान, सानालाई छैन प्रोत्साहन

इकागज |
माघ २२, २०७९ आइतवार ११:४० बजे

मकवानपुर - कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै बागमती प्रदेश सरकारले सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई एक लिटरमा पाँच रुपैयाँ अनुदान दिने तयारी थालेका छ । प्रदेश सरकारले यसअघि प्रतिलिटर दुधमा एक रुपैयाँ दिएको थियो । प्रतिलिटरमा एक रुपैयाँ दिँदा किसानलाई प्रेरणा मिलेको तर उनीहरूको लगानीमा राहत दिन नसकेको गुनासाहरू आएपछि यसलाई सम्बोधन गर्ने तयारी प्रदेश सरकारले गरेको हो । तर यसबाट सिँधै किसान भने लाभान्वित नहुने देखिएका छ ।

त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरूबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।


निर्देशनालयले अनुदान कार्यक्रममा सहभागी हुन सूचना निकालेको र सोही सूचनाको आधारमा प्रदेशको सबै जिल्लाबाट दुग्ध उत्पादक कृषि सहकारी मार्फत आवेदनहरू संकलन भएको कार्यालयले जनाएको छ ।

हालसम्म प्रदेशको सबैजसो जिल्लाबाट आवेदन प्राप्त भैसकेको निर्देशनालयले जनाएको छ । अब ती आवेदनमाथि अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने तयारी निर्देशनालयले गरेको छ ।

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ ।

तर यो कार्यक्रमबाट पनि साना किसान भने लाभान्वित हुने छैनन् । ठूला र व्यवसायिक किसानलाई मात्रै यो कार्यक्रमले सम्बोधन गर्ने देखिएको छ ।

कम्तिमा मासिक एक हजार ५०० लिटर दुध संकलन गर्ने र वार्षिक कम्तीमा दुई सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउनेछन् । यसअघि दिंदै आइएको प्रति लिटर एक रुपैयाँ अनुदान भने सिँधै सबै किसानको खातामा जाने व्यवस्था थियो । जसले थोरै थोरै दूध बेचर घरखर्च चलाउनेहरूले पनि लाभ लिन पाएका थिए । अब लागु हुने योजनामा भने व्यवसायिक किसानले मात्रै लाभ लिन पाउने छन् । आर्थिक लगानी गरेर ठूलो व्यवसाय आँट्न नसक्ने किसानलाई भने यस पटक पनि सम्बोधन नहुने भएको हो ।

बागमती सरकारले लिटरमा पाँच रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो । गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । 

गत वर्ष किसानले प्रतिलिटर एक रुपैंया ६४ पैसा अनुदान पाएका थिए । बागमती सरकारले २०७६ सालदेखि दूधमा नगद अनुदान दिंदै आएको छ ।


Author

थप समाचार
x