बागमती

हेटौंडा-काठमाडौँ जोड्ने ६ वटा सडक सञ्जाल जीर्ण, स्तरोन्नतिबारे समीक्षा

इकागज |
माघ २४, २०७९ मंगलबार २०:२७ बजे

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौँ जोड्ने सडक सञ्जाल जीर्ण भएको गुनासो आइरहेको बेला हेटौंडामा यसबारे बहस भएको छ ।

संघीय संरचना अनुसार प्रदेशको राजधानी बनेपछि हेटौंडा र विशेषगरी काठमाडौँ धेरै आवतजावत गर्नु पर्ने तर सडकको अवस्था नाजुक रहेकोबारे प्रदेश सभामै आवाज उठ्ने गरेको थियो । 'मन्त्रीहरू हवाई मार्गबाट ओहोरदोहोर गर्ने, तर सांसद र अन्य सामान्य जनतालाई यात्रामा सदाको सास्ती हुने गरेको टिप्पणी आउने गरेपछि यसको सुनुवाइ हालसम्म भएको थिएन ।


प्रदेश सरकारको पहिलो कार्यकाल सकिँदासम्म दुई राजधानी जोड्ने बाटो नबनेकामा आक्षेप खेप्दै आएका प्रदेश सरकारले पहिलो पटक सरोकारवालसँग यहाँको राजमार्गबारे चासो देखाएको हो ।

मंगलबार प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रीहरू, मुख्य सचिवलगायत सरोकारवालाहरूको उपस्थितिमा राजमार्गको अवस्थाबारे अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा हेटौंडा-काठमाडौँ जोड्ने ६ वटा राजमार्ग तथा वैकल्पिक मार्गबारे बहस गरिएको थियो । यातायात पूर्वाधार निर्देशनालयले स्तरोन्नति गर्दै आएको ११ किलोमिटरको भिमफेदि-भैसे सडक खण्ड, पूर्वाधार विकास कार्यालय ललितपुरको कार्यान्वयनमा रहेको ७ दशमलव ५ किलोमिटरको हुमानेभञ्ज्याङ् -फर्पिङ सडक खण्ड, प्रदेश राजधानी आयोजनाको कार्यान्वयनका रहेको ८ किलोमिटरको दक्षिणकाली छैमले सडक खण्ड र ११ किलोमिटरको छैमले सिस्नेरी सडक खण्डबारे चर्चा गरिएको थियो ।

यसैगरी सम्झौताको चरणमा रहेको पूर्वाधार विकास कार्यालय ललितपुरको आयोजना कार्यान्वयन हुने ११ किलोमिटरको कुलेखानी-फाखेल-हुमाने-भञ्ज्याङ सडक खण्ड, स्वीकृत हुन बाँकी रहेको बहुवर्षीय योजनाको ९ किलोमिटरको कुलेखानी-ड्याम-मार्खु-भेडाफार्म-चित्लाङ सडक खण्ड निर्माण, स्तरोन्नतिबारे चर्चा भएको थियो ।  

यी राजमार्ग तथा वैकल्पिक मार्गहरूमा सम्झौता बमोजिमको निर्धारित समयावधिमा निर्माण कार्य हुन नसकेको, घर तथा जग्गाको मुआब्जा कार्याविधिले निर्धारण गरेको रकम लिन अस्वीकार गरी निर्माणमा बाधा सिर्जना भएको, बालुवा, गिट्टी, ग्राभेल जस्ता निर्माण सामग्रीहरू स्थानीय निकाय तथा स्थानीयवासीका कारण उठाउन नसक्ने अवस्था रहेको भन्दै यसको विकल्पको खोजी र समन्वयको पाटोमा चर्चा गरिएको थियो ।

आगामी असार मसान्तसम्म निर्माण समयावधि रहेको दक्षिणकाली छैमले सडक खण्डमा सबैभन्दा बढी समस्या रहेको सहभागीहरूले बताएका थिए ।

सडक सञ्जाललाई भरपर्दाे बनाउनका लागि हेटौंडा-भिमफेदि-हुमाने-फर्पिङ-काठमाडौं सडक खण्डमा यातायात बन्द गरेर सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।

मकवानपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमर्कट्टेलको प्रमुख आतिथ्यतामा प्रदेश राजधानीबाट संघीय राजधानी काठमाडौँ जोड्ने सडक निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा सरोकारवाला निकायहरूसँग बैठक बसेको हो ।

प्रदेशको मुख्यमन्त्री जम्कट्टेलले सडककै कारण व्यक्तिको ज्यान जाने अवस्थाबाट माथि उठ्न जरुरी भएको बताए । अन्य क्षेत्रको विकासका लागि समेत सडक मेरुदण्ड रहेकोले यस्तो काममा ढिलासुस्ती कुनै पनि हालतमा प्रदेश सरकारलाई मान्य नहुने उनले बताए ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री युवराज दुलाल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री एकालाल श्रेष्ठ, प्रदेशका मुख्य सचिव मुकुन्द निरौला, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारकै साझा सवालको विषय रहेको सडक समस्यालाई कोही एक व्यक्ति वा निकायले मात्रै समाधान गर्न नसकिने बताए । उनले सबै सरोकारवाल निकायसँग समन्वयात्मक ढंगले अघि बढ्नु पर्नेमा जोड दिए ।

यसैगरी मन्त्री युवराज दुलालले साझा प्रयत्नको माध्यमबाट समस्या समाधान गर्न निर्माणको अवधिमा एकभन्दा बढी मार्गबाट लागू हुने रुट परमिटको अवधि जारी राख्नु पर्ने बताए ।

स्थानीय तहदेखि हरेक तहसंग समन्वय गरेर अघि बढ्ने सकेमात्रै संघ र प्रदेशको राजधानी जोड्ने सडक स्तरीय बन्ने बताए । उनले राष्ट्र निर्माण नै साझा लक्ष्य रहेकोले निर्माणको क्रममा निर्माण पक्षलाई स्थानीय तहसंग छलफल गरेर कार्यस्थल उपलब्ध गराउनु पर्ने बताए । सम्झौता अनुसारको काम समयमा निर्माण गर्नु पर्ने उनले बताए ।

'काम गर्दा गर्दै नभ्याउनेको हकमा केही लचकता अपनाए पनि, काम सुरु गर्ने र बहानाबाजी गर्नेलाई जरिवानालगायतको कारबाही गर्नुपर्ने उनले बताए ।

आफैँ ठेकेदार आफैँ मन्त्री बनेर समयावधि मात्र थप्ने, पहुँचको आधारमा काम नगरी उल्ट हैकम देखाउने परिपाटी रहेको भन्दै उनले आक्रोश पोखे । सडक निर्माणका कार्यमा वर्षा लाग्नु अघि अधिकतम परिणाम देखाउनु पर्ने उनकाे भनाइ छ ।


Author

थप समाचार
x