बागमती

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले वितरण गर्‍याे ७ वटा एम्बुलेन्स

इकागज |
माघ २५, २०७९ बुधबार २०:२६ बजे

मकवानपुर- बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशको सात वटा प्रादेशिक अस्पतालहरूलाई एक/ एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

केन्द्रको परिसरमा आयोजित कार्यक्रममा प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।


वकुलहर अस्पताल रत्ननगर चितवन, रामेछाप अस्पताल रामेछाप, मेथिनकोट अस्पताल काभ्रे, बज्रवाराहि चापागाउँ अस्पताल ललितपुर, भक्तपुर अस्पताल भक्तपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं र पशुपती चौलागाई स्मृति अस्पताल दोलखालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रतिएम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँ लागतमा टेण्डरमार्फत खरिद गरिएको केन्द्रले जनाएको छ । केन्द्रका निमित्त निर्देशक डाक्टर अर्जुनप्रसाद सापकोटाका अनुसार अस्पतालहरूलाई ख वर्गको एम्बुलेन्स प्रदान गरिएको हो । एम्बुलेन्समा बिरामीसहित २ जना कुरुवा, स्वास्थ्यकर्मी बस्ने सुविधादेखि अत्याधुनिक सेवा सुविधा अन्तरगत डेलिभरी सेट, ड्रेसिङसेट, वासिङ इक्युपमेन्ट, टुवे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फोरजि कनेक्टिभिटी डिभाइस, वाकीटकी, क्यामरा, जिपिए सिक्टम समेत जडान गरिएको छ ।

मन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुक्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताए ।

'जनता स्वास्थ्यको पहुँचबाट टाढा हुनु भनेको हाम्रो मन्त्रालयको कमजोरी हो,' मन्त्री श्रेष्ठले भने । स्वास्थ्य बिमा मार्फत प्रदेशमा आश्रित परिवारहरू तथा लोपोन्मुख समुदायहरूलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन आफू लागिपर्ने उनले बताए ।

केन्द्रले गत वर्ष पनि प्रादेशिक अस्पतालहरूलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेकाे निमित्त निर्देशक सापकोटाले बताए ।


Author

थप समाचार
x