बागमती

अब सवारीको ट्रायल पास हुन ७० अंक भए पुग्ने

कस्ताे छ नयाँ व्यवस्था ?

इकागज |
फागुन २, २०७९ मगलवार १४:३७ बजे

मकवानपुर- सवारी चालक अनुमति पत्र लिनका लागि लिइने प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएर हैरान हुनेहरूले अब राहत पाउने भएका छन् । प्रयोगात्मक परीक्षामा सतप्रतिशत अंक नआएपछि फेल भएको मानिने यस परीक्षामा अब ७० अंक प्राप्त गर्नेले पनि अनुमति पत्र पाउने छन् ।

बागमती प्रदेशमा आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ७० अंक ल्याए पनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको हो ।


आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एकालला श्रेष्ठले  ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छ्न् । काठमाडौँको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदडको सुभारम्भ गरेका हुन् ।

सवारी चालक अनुमति पत्रका लागि उत्तीर्ण हुनका लागि १०० मा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो ।

कुनै पनि परीक्षामा सतप्रतिशत अंक ल्याउँदा मात्र उत्तीर्ण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यसले समग्र यातायात क्षेत्रलाई नै समस्यामा पार्ने देखिएपछि आफूले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोही अनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको  मन्त्री श्रेष्ठको भनाइ छ । 

सानो त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफूहरूले नयाँ व्यवस्था  लागू  गरेको  मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘अब सानोतिनो गल्ती गर्दैमा सवारी चालक अनुमति पत्रका लागि पुनः ट्रायल दिनुपर्ने समस्याको समाधान भएको छ । यो व्यवस्थाले सवारी चालक अनुमतिपत्रको सन्दर्भमा हुँदै आएका समस्यालाई न्यूनीकरण गर्दै जाने विश्वास लिएको छु ।’

बागमती प्रदेशमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालय मध्य सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरूले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन् ।

यस्तो छ नयाँ व्यवस्था

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट) आकारको अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।

यस्तै, दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसैगरी साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेक बाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यूटर्नको अंकभार १० तोकिएको छ ।

टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछ ।


Author

थप समाचार
x