बागमती

हेटौंडामा आजबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु

इकागज |
फागुन ३०, २०७९ मंगलबार १९:२७ बजे

मकवानपुर । मकवानपुरकाे हेटौंडामा आजबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ । हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरूको सहभागिता छ ।

प्रतियोगितामा खेलाडीहरूको तर्फबाट मकवानपुरका सोहन राई र निर्णायकहरूको तर्फबाट इन्द्र बहादुर श्रेष्ठले सपथ लिए । प्रतियोगितामा १७ वर्षदेखि २१ वर्ष उमेरसम्मका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी खेलाडीहरूले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगितामा मकवानपुरका तीन जना पुरुष र एक जना महिला खेलाडी सहभागी छन् । पुरुषतर्फ ४८, ५७ र ६३ केजी तौल समुहमा र महिलातर्फ ५० केजी तौल समूहमा मकवानपुरका खेलाडी सहभागी छन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता चैत्र ४ गतेसम्म चल्नेछ ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् । कार्यक्रममा बोल्नुहुँदै मन्त्री मोक्तानले खेलले राष्ट्रलाई चिनाउने र व्यक्ति स्वच्छ बनाउने बताइन् । बागमती प्रदेश सरकारले खेल क्षेत्रमा सहयोग गरिरहेको उनले बताइन् । उनले प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मानजनक उपस्थिति भएर अनुशासित भएर खेल्न आग्रह समेत गरिन् । यस्तै जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशीले नयाँ पुस्ताका युवाहरूलाई बक्सिङतर्फ अगाडि बढाउने प्रयासले प्रतियोगिता आयोजना गरेको बताइन् । उनले प्रतियोगितालाई निरन्तरता दिन प्रदेश सरकार तयार रहेको बताइन् ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबहादुर महत, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडाध्यक्ष सुशील घिमिरे, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी लगायतको आतिथ्य रहेको थियो ।


Author

थप समाचार
x