बागमती

काठमाडौँ प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता

काठमाडौँ महानगरले अब सबै सेवा एकै ठाउँबाट दिने

इकागज |
चैत ९, २०७९ बिहीबार १२:३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अबदेखि एकै ठाउँबाट सबै सेवा प्रवाह गर्ने भएको छ । महानगरले काठमाडौँ प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेपछि सबै सेवा एउटै भवनबाट प्रवाह गर्ने भएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल ट्रष्टसँग महानगरले काठमाडौं प्लाजा १० वर्ष भाडामा लिने सम्झौता गरेको छ। सम्झौतामा पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख छ ।


महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरमा १६ विभाग छन्। सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।

छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो। करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।

२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ । वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।


Author

थप समाचार
x