बागमती

मकवानपुरमा बाघ र हात्तीको त्रास, पानीपधेंराे अनि घाँसदाउरा गर्न कठिन

इकागज |
बैशाख ६, २०८० बुधबार १८:१७ बजे

सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरमा गत कात्तिकबाट जंगली जनावरको आक्रमणको कारण सर्वसाधारणमा त्रास फैलिएकाे छ । कहिले बाघ त कहिले हात्तीले मानवीय क्षति गर्न थालेपछि सर्वसाधरण हैरान हुन थालेका हुन् ।

पछिल्लो पटक बुधबार बाघको आक्रमणबाट हेटौंडामा २ जना घाइते भए । बाघको आक्रमणबाट घाइते हुनेमा हेटौंडा १५ बुद्धचोकका १७ वर्षीय सुमन घलान र ६५ वर्षीय कृष्णबहादुर थिङ रहेका छन् ।


हेटौडा १५ स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएकोमा बाख्रालाई बाघले आक्रमण गरेपछि धपाउन खोजेका बेला उनीहरूलाई बाघले आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते घलान र थिङको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी जनाएकाे छ ।

बाघको आक्रमणबाट घलानको दाहिने कुम, ढाडको बायाँ, छातीमा चोट लागेको अवस्था मध्यम रहेको तथा थिङको घाटीमा गहिरो लागेकोले अवस्था गम्भीर रहेको बताइएको छ ।

थिङलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी समेत भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो समय मकवानपुरमा बाघ, हात्तीलगायतको आक्रमणले सर्वसाधारण प्रभावित हुन थालेका छन् ।

यस अघि मकवानपुरमा बाघको आक्रमणबाट झण्डै २ दर्जन बाख्रा र १ वटा गाई मारिएको थियो । बाघको आक्रमणको कारण घाँस दाउरा र सोतर गर्न त्रास सिर्जना भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको केही वडा र मकवानपुरगढी गाउँपालिकामा स्थानीयहरूको घरपालुवा पशुचौपायामाथि आक्रमण गर्न थालेपछि समस्या हुन थालेको छ । मकवानपुरका गत माघ २५ गते मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा एक महिला बाघको आक्रमण परि घाइते भएकी थिइन् ।

हेटौंडाको मुख्य बजारबाट झण्डै १६ किलोमिटर दक्षिण पूर्वमा पर्ने सुकौरा भन्ने स्थानमा बाघको आक्रमणको माघ महिनामा निकै समस्या भएको थियो । बाघको आक्रमणबाट स्थानीय ५६ वर्षीया मैती बयलकोटी घाइते भएकी थिइन् ।

हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने बयलकोटी घाँस काट्न जाने क्रममा सुकौरामा बाघको आक्रमणमा परेकी थिइन् । घाँस काट्न जाँदै गर्दा सुकौरा भन्ने स्थानमा उनलाई बाघले आक्रमण गरेको थियो । उनको ढाड र अनुहारमा चोट लागेपछि लामो समय अस्पतालमा बसेर उपचार गरेकी ठूलोदमार प्रहरी चौकीका ईन्चार्ज अर्जुनप्रसाद देवकोटाले बताए ।

बाघले सोही दिन हेटौंडा १८ हर्नामाडीको गुम्बाडाँडामा स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको थियो । बाघले सोही स्थानका राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएर छाडेको थियो ।

यो क्षेत्रमा गत माघ मै बाघको आक्रमणले दर्जनौं बाख्रा तथा अन्य चौपाया मारेपछि स्थानीय हैरान थिए । “महिनादिन बित्न नपाउँदै फेरि बाघको आक्रमणले मान्छे घाइते बनाएको थियो, अहिले २ महिनाको अन्तरालमा फेरि बाघ मानव बस्तीमा पस्न थाल्यो” राजु पहेंलीले भने । “बालबच्चा र जोगाउने कसरी, चौपाया र आफैं बाँच्न गाह्रो भयो” स्थानीय कोपिला परियारले भनिन् ।

कहिले सामुदायिक वन बाक्लो भएसँगै जंगली जनावरको भय हुन थालेको बताउने उनीहरू अहिले भने वनमा लागेको डढेलोको कारण जंगली जनावर मानव बस्ती पसेको हुनसक्ने अनुमान गर्छन् ।

वन कार्यालयले बाघको चलायमान क्षेत्रमा ट्रयाकिङ राख्ने बाहेक केही काम गरेको छैन । डिभिजन वन कार्यालय राप्ती, मनहरीका अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार स्थानीयहरूलाई आफ्नो चौपायामात्रै हैन बालबालिकाको संरक्षणमा समेत समस्या भएको छ ।

बाघले गत कार्तिक १३ गते आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं १ भैरवडाँडा एक–एक वटा खसी र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नं ६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खसीबाख्रा मारेको थियो ।

बाघले यो हालसम्मकै ठूलो क्षति भएको मकवानपुरगढी गाउँपालिका वडा ६ का वडाअध्यक्ष कृष्ण बजागाईंले बताए । क्षतिपुर्तिका लागि जिल्ला वन कार्यालयमा माग गरिएको उनले बताए ।

बाघले एकपछि आर्के स्थानमा पशुचौपाया मार्न थालेपछि मकवानवपुरका स्थानीयहरू त्रसित बनेका छन् । बाघको कारण स्थानीयहरू एक्लादुग्लै हिँड्डुल गर्न, पानी पधेंरो, घरायसी काम दाउरा, घाँस दाउरा र सोतर गर्न समेत डराउनुपर्ने स्थिति रहेको स्थानीयको गुनासो छ ।

हेटौंडा उपमहानगर होस् या मकवानपुरगढी, जिल्लाभर बाघलाई चाहिने आहारासहितको उपयुक्त बासस्थान छैन । आहाराका लागि पशुचौपाया खाने बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्ने भएकोले स्थानीय त्रसित बनेका हुन् ।

हेटौंडा १ को भैरवडाँडा सामुदायिक वनमा बाघले बाख्रा मार्यो भन्दै स्थानीयहरूले प्रशासनलाई जानकारी गराएपछि डिभिजन बन कार्यालय, राप्तीको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चार वटा सिसि जडान गरिएको थियो तर त्यो भन्दा बढी कुनै कदम अघि बढेन ।

बाघले आतङ्क मच्चाएपछि बाघलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषको समन्वयमा डिभिजन वन कार्यालय राप्तीले पर्सा वन्यजन्तु आरक्षण र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक ल्याए पनि नियन्त्रणमा लिन नसकेको जनाएको छ ।

जिल्ला वन कार्यालय मकवानपुरले भने बाघको आक्रमणबाट भएको क्षतिको विवरण संकलन हुन बाँकी रहेको जनाएको छ ।

यसैगरी गत फागुनमा पर्सा वन्यजन्तु आरक्षबाट भागेको हात्तीले मकवानपुरको २ जनाको ज्यान लिएको थियो । एक जना घाइते बनाएको थियो । मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट बकैया ५ पावसका ५० वर्षीय सन्तलाल माझीको १२ गते मृत्यु भएको थियो ।

साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दियो ।

सोही हात्तीकै आक्रमणबाट फागुन ८ गते मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो ।  १० गते हेटौंडा १८ हर्नामाडी मानेडाँडाका ३० वर्षीय देव वाईबालाई घाइते बनाएको थियो ।

पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तीको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थाले पनि यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो दिएको छैन ।


Author

थप समाचार
x