बागमती

गुणस्तरीय सेवा प्रवाह हाम्रो अभियान : थाहा नगर प्रमुख विष्ट

इकागज |
बैशाख ७, २०८० बिहीबार १९:५५ बजे

मकवानपुर- मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने आफूहरूको मुख्य ध्येय रहेको बताएका छन् ।

नगरको विकासका काममा कुनै कन्जुस्याइँ आफूहरूबाट नहुने उनले बताए । नागरिकको सेवा व्यवस्थित गर्न र पालिकाको सर्वाङ्गिण विकासका लागि निर्वाचित पदाधिकारी हरदम प्रतिबद्ध रहेको बताउँदै कुनै गुनासो भए त्यसलाई सम्बोधन गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिबद्धता जनाए ।


थाहा नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विष्टले यस्तो बताएका हुन् । एसएमएस मिडिया प्रालिको संयोजनमा बज्रबाराहीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, लैङ्गिक समानता, पूर्वाधार विकास, अनुगमन व्यवस्थापन, प्रशासनिकलगायतको सवालहरूमा नागरिकहरूले पालिका र वडा समिति लक्षित प्रश्न गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख विष्टले पालिकाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनमा बेरुजु बढेको प्रसंग उल्लेख गर्दै बेरुजू भन्ने बित्तिकै यसलाई खाइमासेका रूपमा नलिन नागरिकहरूलाई आग्रह गरे । विष्टले बेरुजु, यसका किसिम र बेरुजु हुनुको कारणको विषयमा समेत नागरिकहरूलाई सुझाएका थिए । एकीकृत रूपमा पालिकाको विकास र प्रगतिमा जनप्रतिनिधिहरू उत्तरदायी हुने र नागरिकहरू कर्तव्यनिष्ठ भएर काम गर्न सके सफलता हाम्रै सामु रहेको प्रमुख विष्टले उल्लेख गरे ।

यसअघिको पहिलो जननिर्वाचित कार्यकालको स्मरण गर्दै विष्टले भने, ‘बेरुजु कम हुनु, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोगलगायतको क्षेत्रगत रूपमा संघीय सरकारदेखि जिल्ला समन्वय समितिसम्मको तहबाट पुरस्कृत थाहा नगरपालिकाको साख कायम राख्न जनप्रतिनिधि, कर्मचारी र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ, म तपाईँहरूबाट यही चहान्छु ।’ कार्यसम्पादनको क्रममा केही त्रुटी भए त्यसलाई सुधारेर जनमुखी काम गर्न थाहा नगरपालिका सधैं तयार रहेको उनको भनाइ थियो ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पालिकामा न्यायिक कार्यसम्पादनका कार्यहरू निरन्तर भैरहेको कार्यक्रममा जानकारी गराए । मेलमिलापकर्ताहरूको गुनासो समेत सम्बोधन गर्दै उपप्रमुख गोपालीले वडास्तरमा गठित मेलमिलाप केन्द्रलाई वडाकै एक बलियो अंगका रूपमा स्थापित गर्न वडाध्यक्षहरूलाई निर्देशन दिए ।

पालिकाबाट हुने योजनालगायतको अनुगमनको कार्यमा नागरिकलाई समेत सहयोग गर्न आग्रह गरे । पालिका र वडा संयन्त्रबाट भएको अनुगमनमा के त्रुटी गर्छ भनेर बस्नुभन्दा पनि कुनै समस्या भए हाकाहाकी आफूलाई भेटेर वा फोनमै पनि नागरिकले भन्न सकिने उपप्रमुख गोपालीको भनाइ थियो ।

योजना तर्जुमा, संचालन, फरफारकको क्रममा प्रक्रिया र कागजात पुगेको खण्डमा कुनै कर्मचारीबाट दुःख दिन खोजे त्यसको रिपोर्टिङ आफूलाई सिधैं गर्न समेत आम नागरिकहरूलाई आग्रह गरे । बजार अनुगमन, सचेतनालगायतका कार्यक्रमहरूमा पनि पालिका प्रतिबद्ध रहेको गोपालीको भनाइ रहेको थियो । पालिकाको सेवा प्रवाह र विकास कार्य मजबुत बनाउन कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले उनीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिएको बताए ।

नगरको आन्तरिक आय वृद्धि गर्न सके पालिकाले सोचेका नवीनतम् कार्य गर्न सकिने बताउँदै यस कार्यमा नागरिकहरूले कर्तव्य निर्वाह गर्ने सवालहरूमा गम्भीर हुन आग्रह गरे । ग्रामीण भेगको नगरपालिका भएकोले भौगोलिक रूपमा सेवाका कुनै ढिलासुस्ती भए त्यसलाई सच्याउन पालिका तयार रहेको उल्लेख गर्दै रिक्त दरबन्दी पदपूर्तिका लागि लोकसेवा आयोगसँग कर्मचारी माग गरिने उनको भनाइ थियो ।

आफू भर्खर थाहामा सरुवा भई आएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाको विकास, सेवा प्रवाह, सुशासन र पारदर्शी कार्यका लागि आफू प्रतिबद्ध रहेको बताए । 
कार्यक्रममा उठेका सवालहरूमा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, कृषि विकास शाखा प्रमुख संजय तिवारी, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, डाक्टर शक्ति चौरसिया, लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, वडाध्यक्षहरू हेरमान गोपाली, राजेन्द्रभक्त श्रेष्ठ, हिरा बहादुर गमाललगायतले उत्तर दिएका थिए ।

सो अवसरमा सार्वजनिक सुनुवाइ सम्बन्धी कार्यविधिको अनुसूचीमा आधारित सर्वेक्षण प्रतिवेदन, सेवा प्रवाहको सूचक समेटिएको प्रतिवेदनहरूको समेत प्रस्तुतीकरण गरिएको थियो ।

थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर सन्तोष बोहरा, रोजगार संयोजक कुमार नेगी, ५ नम्बर वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, पशु विकास शाखा प्रमुख राघवेन्द्र मिश्र, सूचना अधिकारी सुरजकुमार भुजेल, योजना शाखा प्रमुख प्रकाशकुमार लामा, ६ नम्बर वडा सचिव सुनिल लामिछाने तथा वडा र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x