बागमती

थाहा नगरपालिकाका दुई वडा संस्थागत सुत्केरी सुनिश्चित घाेषणा

इकागज |
बैशाख २७, २०८० बुधवार १९:५७ बजे

मकवानपुर । थाहा नगरपालिकाका २ वटा वडा संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गरिएकाे छ । थाहा नगरकाे ९ र १० नम्बर वडालाई घरमा सुत्केरी हुने शून्य वडा घोषणा गरिएको छ ।

नगरको ९ नम्बर वडाको माझगाउँमा आयोजित एक समारोहबीच ९ र १० वडालाई संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।


नगर प्रमुख विष्णु बहादुर विष्टले ९ नम्बर वडाकाे चित्लाङ स्वास्थ्य चौकी र १० नम्बर वडाकाे टौखेल शहरी स्वास्थ्य केन्द्रलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएकाे वडा घोषणा गरेका हुन् । दुई वडालाई संस्थागत सुत्केरी वडा घोषणा गर्दै थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले अब अन्य वडाहरुलाई बालमैत्री घोषणा गरेर सिङ्गो नगरलाई नै संस्थागत सुत्केरी हुने नगरको रुपमा विकास गर्नेगरी अभियान चलिरहेको बताए । उनले घरमा सुत्केरी सून्य गर्ने अभियानले दिगो विकासका दर्जन लक्ष्य हासिल गर्न मद्दत पुग्ने उल्लेख गरे ।

संस्थागत सुत्केरीको सुनिश्चिततासँगै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने अभियानको पनि आधार तयार भएको बिष्टको भनाइ थियो । उनले बिषम परिस्थितिमा पनि नागरिकको लागि अहाेरात्र खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिए ।

बुधबार थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, वडा नं. ९ का वडा अध्यक्ष राजकुमार बलामी, दुबै वडाका वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयम्सेविकाहरु, सेवाग्राहीहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको सहभागितामा वडा नं. ९ र १० लाई ‘जिरो होम डेलीभरी’ वडा घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रमका अध्यक्ष एवम् ९ नम्वर वडा अध्यक्ष राजकुमार बलामीले वडाकाे प्राथमिकता नै शिक्षा र स्वास्थ्य रहेकाे उल्लेख गरे ।

चालु आर्थिक वर्षको हालसम्म वडा नं. ९ को चित्लाङ स्वास्थ्य चौकीमा १६ जना सुत्केरी भएका छन् भने वडा नं. १० को टौखेल सहरी स्वास्थ्य केन्द्रमा ३ जना सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा दुवै संस्थामा गरी २९ जना सुत्केरी भएका थिए । वडामा कुनै पनि महिला घरमा सुत्केरी भएका छैनन् अर्थात् सबै सुत्केरी स्वास्थ्य संस्थामै भएको छ भन्ने तथ्याङ्क प्रमाणीकरण भएपछि जिरो होम डेलीभरी वडा घोषणा गरिन्छ ।
 


Author

थप समाचार
x