बागमती

५० हजार ऋणका लागि ११ कठ्ठा जमिन धितो:

साँवा ब्याज दिँदा नि फिर्ता नगरेपछि १७० दिनदेखि धर्नामा

इकागज |
बैशाख २८, २०८० बिहिवार ११:५१ बजे

मकवानपुर - जग्गा दृष्टिबन्धकीबाट पीडित मकवानपुरको हेटौंडा–१३ का जगतबहादुर सुनारका परिवारले जग्गा फिर्ताको माग गर्दै विगत ६ महिनादेखि अर्थात १ सय ७० दिनदेखि दिँदै आएको छन् । 

हेटौंडाको मुख्य चोक (बुद्धचोक) नजिकै घर भएका व्यवसायी नियमराज शाक्यविरुद्ध उनकै घरमा शान्तिपूर्ण धना दिँदै आएका थिए । तर पछिल्लो केहीदिन यता सुनारको स्वास्थ्यमा समस्या आएको र जिल्ला अदालतले पनि आउँदो जेठ ७ गते अदालतमा दुबै पक्षलाई मेलमिलापमा गर्न उपस्थित हुन बोलाएपछि उनले आज बिहीबारबाट केही दिनको लागि भन्दै धर्ना कार्यक्रम स्थगित गरेका छन् । सुनारको शान्तिपूर्ण धर्ना र उनको न्यायको पक्षमा विभिन्न सामाजिक अभियन्तादेखि राजनीतिक दलहरुले समेत एक्केबद्धता जनाउँदै आएका छन् ।


पीडित सुनारले अझै पनि आफूले न्याय पाउने आशा रहेको जनाउँदै पत्रकार सम्मेलनमार्फत आफ्नो धर्नामा साथ दिने सामाजिक अभियन्ता र राजनीतिक दलहरुलाई धन्यवाद व्यक्त गरे । उनले जिल्ला अदालतले जेठ ७ गते मेलमिलापको लागि आउन भनेको बताउँदै त्यतिन्जेलको लागि धर्ना कार्यक्रम स्थगित गरिएको बताए । ‘पीडक पक्ष नियमराज शाक्यको घर अगाडि धर्ना दिएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियन्ता तथा धर्नामा सहभागी बन्दै आएका विशालराज महतले आफूहरु जगतबहादुरको धर्नालाई बीचमै नछोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले जगतबहादुरको स्वास्थ्यमा समस्या देखिएको र अदालतले पनि जेठ ७ गते मेलमिलाप गर्न बोलाएको भन्दै त्यस समयसम्म धर्ना कार्यक्रमलार्ई स्थगित गरिएको बताए ।

महतले ६ महिनाको बीचमा मेलमिलापको लागि पीडक पक्ष र प्रहरीसँग पटक पटक संवाद गरेको तर समस्या समाधान हुन नसकेको बताउँदै अदालतबाट मेलमिलाप हुनसक्ने विश्वास व्यक्त गरे । उनले अदालतबाट पनि मेलमिलाप हुन नसके नयाँ ढंगको धर्ना कार्यक्रम अघि बढ्ने बताए ।

यस्तो थियो घटना ?
विसं २०५४ वैशाख १९ गते । यो घटना तत्कालिन हेटौंडा नगरपालिका वडा नंबर ३ पिपलबोट नजिक सुन पसल राखेर व्यवसाय गरिरहेका पदमपोखरीका ५५ वर्षीय बाबु पदमलाल सुनार, उनका छोरा ३१ वर्षीय जगतबहादुर र अर्का व्यवसायी घरभेटी ३२ वर्षीय नियमराज शाक्यको बिचको हो ।

सुन व्यवसायी सुनार बाबुछोरालाई व्यवसायलाई अघि बढाउनको लागि ५० हजारको ऋणको आवश्यक प¥यो । तत्कालिन समयमा ५ वर्षदेखि सोही घरमा पसल गरिरहेका बाबुछोराले घरभेटीले ब्याजमा ऋण दिने पनि गरेको जानकारी पाएपछि उनीहरुले घरभेटीबाटै ऋण लिने निर्णय गरे ।

उनीहरुले घरभेटी शाक्यसंग ऋण मागे तर शाक्यले सुनारको सम्पत्ति जग्गा (११ कठ्ठा १६ धुर जग्गा) दृष्टिबन्धकी गरेर मात्र ऋण दिने भए । बाबु ऋण लिन जग्गा दृष्टिबन्धकी गर्न सहमत भए । २०५४ साल वैशाख १९ गते पदमलाललाई शाक्यले जग्गा दृष्टिबन्धकी भन्दै सोही दिनदेखि जग्गा भोग गर्न पाउने गरि आफ्नो नाममा जग्गा राजीनामा पास लगाए ।

पदमलालले जग्गा दृष्टिबन्धकी मानेर जग्गा राजीनामा गराए, तर सुनार बाबु छोराले उक्त दृष्टिबन्धकी जग्गा राजीनामा पास गरिएको बारे २०५९ साल साउन १० गते मात्रै थाहा पाए ।

जग्गा राजीनामा भएको जानकारी पाउन साथ उक्त ५० हजार ऋण तिर्न सुनार बाबुछोरा नै शाक्यकोमा पुगेका थिए । तर ऋण ५० हजारबाट ब्याजसहित बढेर २ लाख पुगेको र केही रकम नपुग हुँदा सोही समयदेखि शाक्यले जग्गा फिर्ता गर्न मानेनन् ।

जगतले त्यसपछि आफू र बाबुले शाक्यलाई जग्गा फिर्ता गर्न पटक पटक अनुरोध गरेको समेत बताए । २०६३ सालमा बाबुको मृत्यु पछि केही महिनापछि आफू पुनः शाक्यलाई भेट्न गएको तर जग्गा फिर्ता गर्न शाक्य सहमत भएनन् । जगतले बाबुको मृत्यु र जग्गाको तनावले व्यवसाय नै बिग्रिएपछि केही समय काम नैै रोकेर बसेको र पछि विरगंजमा १३ वर्ष अरुको व्यवसायमा काम गरेर बसेको बताए । उनले पछिल्लो ७ वर्षदेखि हेटौंडामा पुनः आफ्नो व्यवसाय सुरु गरेर बसेका छन् ।

उनले शाक्यसँग पटकपटक जग्गा नामसारी गर्न अनुरोध गरेको तर उल्टै धम्की दिने गरेको समेत बताए । उनले शाक्यसँग पटक पटक भेटर धितो स्वरुपको जग्गा नामसारी फिर्ता गर्न र रकम हिसाब गरी चुक्ता गर्ने बताउँदा समेत जग्गा फिर्ता नगरी उल्टै धम्की दिएर आफ्नो परिवारलाई पीडा दिएको भन्दै दुःख व्यक्त गरे । सुनारले भने २०७३ चैत देखी पटकपटक शाक्यलाई भेट्दा सम्पति फिर्ता गर्न अनुरोध गरिरहेका छन् ।

‘उहाँको घर, पसलमा गएर रकम साँवा ब्याज हिसाब गर्न तयार छु भनेर बताउँदा उहाँ हुन्छ भनेर आश्वासन दिँदै आउँनु भएकोमा कहिले काठमाण्डौं गएर आएर दिन्छु, कहिले बिरामी छु, कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्दै आए । तर पछिल्लो वर्षमा आफ्नो परिवारलाई नै अभद्र व्यवहार गर्दै जग्गा आफुले खरिद गरेको बताउँदै खरिद गरेको जग्गा माग्न आएमा राम्रो नहुने भन्दै ज्यान लिने सम्मको धम्की दिदैँ आएका छन् ।’ सुनारले भने, ‘म आपसी मेलमिलाप गर्न तयार छु तर उहाँ र उनका निकटहरु भने विभिन्न बहानामा पन्छिदै आएका छन् ।’

उनीहरु बिच आगामी जेठ ७ गते जिल्ला अदालतले मेलमिलापको लागि बोेलाएको छ । 
 


Author

थप समाचार
x