बागमती

सकियाे प्रदेश खेलकुद प्रतियोगिता, ७८ पदकसहित काठमाडौं च्याम्पियन

इकागज |
जेठ १४, २०८० आइतबार ८:४२ बजे

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको शनिबार सम्पन्न भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना भएको प्रतियोगिताको  हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला शनिबार विशेष समारोहकाबीच समापन गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा प्रतियोगिताको समापन कार्यक्रम आयोजना गरिएको थियो । जेठ ७ गते मुख्यमन्त्री जम्कट्टेलले पिप्ले क्याम्पा रंगशालामै प्रतियोगिताको उद्घाटन गरेका थिए ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा साथ आयोजना भएको दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, २२ रजत र २५ काँस्य गरी कुल ७८ पदक सहित च्याम्पियन बनेको हो । प्रतियोगिताको पहिलो संस्करणमा दोस्रो स्थानमा रहेको काठमाडौं दोश्रो संस्करणमा पहिलो स्थान बनाउन सफल भयो ।

प्रतियोगिताको पहिलो संस्करणमा पहिलो भएको चितवन दोस्रो संस्करणमा २३ स्वर्ण, २४ रजत र २५ काँस्य गरी कुल ७२ पदकसहित दोस्रो स्थानमा रह्यो । यस्तै काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ काँस्यसहित ५३ पदक जित्दै तेस्रो स्थान बनाउन सफल भयो । 

पदक तालिकाको चौथो स्थानमा ललितपुर रहेको छ । उसले १९ स्वर्ण २७ रजत र २७ कास्य पदकाे जितेकाे छ । सिन्धुपाल्चोक पाँचौ र मकवानपुर छैटौं स्थानमा छ । सिन्धुपाल्चाेकले १७ स्वर्ण ८ रजत र १६ काँस्य पदक र मकवानपुरले १६ स्वर्ण ११ रजत र १७ काँस्य पदक हात पारेकाे हाे । त्यस्तै  भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली क्रमशः सातौं, आठैं, नवौं, दशौं र एघारौं स्थानमा रहको छ ।

यसैगरी भक्तपुरले १४ स्वर्ण १४ रजत र ९ काँस्य, नुवाकाेटले १० स्वर्ण १० रजत र २२ काँस्य, रामेछापले १० स्वर्ण ९ रजत र १८ काँस्य, दाेलखाले ३ स्वर्ण ११ रजत र ९ काँस्य, सिन्धुलीले ३ स्वर्ण ७ रजत र १० काँस्य पदक प्राप्त गरेका छन् । पदक तालिकाको अन्तिममा धादिङ र रसुवा रहेका छन् । धादिङले ६ रजत र १४ काँस्य पदक प्राप्त गर्दा रसुवाले २ रजत र ५ काँस्य पदका प्राप्त गरे ।

मकवानपुर, काठमाडौं, चितवन र ललितपुरमा संचालन गरिएकाे प्रतियाेगिता अन्तर्गतका १३ खेलमध्ये १२ खेलका कुल १ सय ६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।बागमती प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र काँस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मुख्यमन्त्री जमकट्टेल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी लगायतले समापनमा टिम च्याम्पियन बनेको काठमाडौं, दोस्रो चितवन र तेस्रो काभ्रेलाई ट्रफी प्रदान गरे । पहिलो पटक प्रदेश खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी प्रदान गरिएकाे हाे। 

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जेठ ७ गतेबाट सुरु भएकाे प्रतियोगितामा १३ खेल समावेश गरिएकाे थियाे । २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कास्य गरी ७ सय ९४ पदका लागि प्रतिस्पर्धा हुने बताइएकाे भए पनि १ सय ६८ स्वर्ण, १ सय ६४ रजत र २ सय १४ कास्य गरी ५ सय ५० पदकका लागि प्रतिस्पर्धा भएकाे थियाे ।

प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा प्रतिस्पर्धा गराइएकाे थियाे भने प्रतियोगिताको पुरुष फुटबल र एथ्लेटिक्स् हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा र महिला फुटबल हेटौडाकाे गौरीटार रंगशालामा खेलाइएका थिए । हेटौंडा–४ स्थित हुप्रचौरमा भलिबल, रग्वी, कराँते, तेक्वान्दो, आईटीटीफ र तेक्वान्दो खेलका प्रतिस्पर्धा भएकाे थियाे ।

त्यस्तै बक्सिङ्ग महिला र पुरुष खेल हेटौंडा–४ स्थित कर्भड हलमा तथा व्याटमिन्टन महिला र पुरुष हेटौंडा–११ थानाभ¥याङ्गस्थित कर्भड हलमा खेलाइएकाे थियाे । जुडो काठमाडौं, उसु त्रिपुरेश्वर, क्रिकेट चितवन, पौडी सादोबाटो ललितपुरमा प्रतिस्पर्धा गराइएकाे प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित बामगती प्रदेश खेलकुद विकास परिषदले देशमै पहिलो पटक प्रदेश स्तरको खेलकुद प्रतियोगिता गत वर्ष आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा गत वर्ष ८ वटा विधाका समावेश गरिएकाेमा दोस्रो संस्करणमा ५ खेल थप गर्दै १३ विधामा प्रतियोगिता संचालन भएकाे हाे ।

प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेश समूह तयार र खेलाडीलाई नियमित अभ्यास एवम् प्रशिक्षणको उद्देश्यका साथ दोस्रो वर्ष पनि प्रतियोगिता सुरु गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । यस्तै दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको मस्कटको रुपमा लोपन्मुख सालकलाई प्रयोग गरिएको थियाे । ‘किसानको साथी’ को रुपमा हेर्ने गरिएको सालक संरक्षणको पहल स्वरुप मस्कटको रुपमा प्रयोग गरिएको बागमती प्रदेश खेलकुद परिषद कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x