बागमती

थाहा नगरमा पर्यटन साहित्य महोत्सव

इकागज |
जेठ १४, २०८० आइतवार १५:२३ बजे

मकवानपुर- थाहा नगरमा पर्यटन साहित्य महोत्सव भएकाे छ । पर्या साहित्यमा जाेड गजल महफिल, वहस, पर्या कविता वाचनसहित साहित्य महाेत्सवकाे आयाेजना गरिएकाे हाे । पर्या साहित्यमा जोड दिँदै साहित्य संगम मकवानपुरले ३ सय ३१औं साहित्य सन्ध्या थाहा नगर पर्यटनका रूपमा आयाेजना गरेकाे हाे ।

विकासघर पालुङमा आयोजित दुई दिने कार्यक्रममा पहिलो दिन गजल महफिल आयोजना गरियो भने दोश्रो दिन बहस तथा पर्या कविता वाचन गरिए । गजल महफिलमा धर्मराज स्याङ्तान, विद्या निर्दोष पहाडी, इन्दिरा अधिकारी, इन्दिरा अधिकारी, भरतप्रमोद दाहाल र सुवास सजलले गजल वाचन गरेका थिए । यस सेसनलाई बाबु त्रिपाठीले सहजीकरण गरेका थिए ।


संगम अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, विशिष्ट अतिथिहरू थाहा नगरपालिका उपप्रमुख भरत गोपाली रहेका दोस्रो दिनको उद्घाटन समारोहमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले प्रस्तुत गरेका मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्रमा कवि सुवास खनालले टिप्पणी गरेका थिए । जसमा देवराज खरेल र हरिकृष्ण कार्कीले आफ्ना विचारहरू राखेका थिए । उक्त सेसनको सहजीकरण संगम सचिव डिबी बर्तौलाले गरेका हुन् ।

साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन बहस देवराज खरेलको अभिभावकत्वमा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, साहित्यकार माया मानवी, भाषा संस्कृति अध्येता ओम रिजाल सहभागी सेसनको सहजीकरण संगम कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए । मानवीले जनप्रतिनिधिहरू जुनसुकै राजनीतिक दलबाट चुनिएता पनि साहित्य, पर्यटन विकास, सर्जक लगायत सबैप्रति राजनीतिक आँखाले नहेर्नका लागि अनुरोध गरिन् । यस्तै अध्येता रिजालले कर्णाली क्षेत्रको दुल्लुमा त्यहाँका कला कौशल, संस्कृति, इतिहास, भेषभुषा, भाषा आदिबारे पुस्तक लेखिएको र त्यसलाई स्थानीय निकायले प्रकाशन गरेको हुँदा थाहाले यस्ता सिकाइलाई पछ्याउनका लागि सुझाव दिइन् ।

कविहरू भावना सापकोटा, पुण्यशिला श्रेष्ठ, रजनी श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, स्वस्तिका दाहाल, प्रज्वल अधिकारी, सुरज पराजुली, बाबु त्रिपाठी, प्रकाश समीर, राम बर्तौला, रसिकराज, देवराज तिवारी, विशाल अधिकारी आशुतोष, संप्रस पौडेल, मसान उपासक, अञ्जय प्रधान, यश लामा, बैकुण्ठ लामिछानेले पर्या पर्यावरण कविता वाचन गरेका । डा. नवराज लम्सालको अभिभावकत्वमा भएकाे कविता वाचन कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र दिइएको थियो ।

कार्यक्रममा मदन पुरस्कार लगायत ४ राष्ट्रिय साहित्यिक पुरस्कार विजेता डा. लम्सालले वाचन भएका पर्या साहित्य सिर्जनाले स्थानीयदेखि विश्वका मुद्दा उठाएका र सर्जकहरूलाई छन्द वा गद्यमा रचना गर्ने तथा आफ्नो रचनालाई कसैले नराम्रो भन्ला कि भन्ने अन्यौलताबाट मुक्त भएर लेखन कार्यमा जोड गर्न सल्लाह दिँदै आफ्नो कृति अग्निमा थाहा, मकवानपुरगढी लगायत मकवानपुरकै माटोको सुगन्ध रहेकोले मकवानपुरलाई जहिल्यै माया गर्ने बताए ।

पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, थाहा नगरपालिका, पालुङ र पालुङ साहित्य परिषदसँगको सहकार्यमा पालुङमा आयोजित २ दिने महोत्सव बाइलाइन नेपाल, साहित्य पोस्ट, एन एस टेलिभिजन, थाहापाटी, दामन एफएमसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।


Author

थप समाचार
x