बागमती

बागमतीको नीति तथा कार्यक्रम स्वीकृत

इकागज |
जेठ १९, २०८० शुक्रबार २१:५ बजे

मकवानपुर- बागमती प्रदेश सभाले सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित बहुमतले पारित गरेको छ । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो अधिवेशनको तेह्रौं बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रममा जेठ १७ गतेबाट छलफल सुरु भएको हो । १७ गतेबाट लगातार ३ दिन भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष गरी ८१ जना प्रदेश सभाका सदस्यहरूले सरकारलाई मार्ग निर्देशनसहित सुझावहरू दिएका थिए ।


छलफलमा सदस्यहरूले उठाएका विषयवस्तुका सन्दर्भमा मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले जवाफ दिएका थिए । जवाफमा उनले प्रदेश सभा सदस्यहरूले उठाएका विषय तथा दिएका सल्लाह सुझावहरू बजेट केन्द्रित भएकाले आगामी बजेटमा समावेश भएर आउने बताए । मुख्यमन्त्रीको जवाफपछि सभामुख भुवनकुमार पाठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथिको छलफल सकिएको घोषणा गरेका थिए ।

बैठकमा प्रदेश सभाका सदस्य मधुसूदनप्रसाद पौडल, एकालाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरेन्द्रराज गोसाई र सृजना सैजूले विभिन्न माग राख्दै नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव टेबुल गरेका थिए । उनीहरूले टेबुल गरेको संशोधनको प्रस्ताव फिर्ता लिन सभामुखले समय दिएका थिए । तर, संशाेधन प्रस्ताव दर्ता गराएका सदस्यहरूले प्रस्ताव फिर्ता नलिकाले बैठकमा निर्णयार्थ पेस भएकोले सभाबाट नीति तथा कार्यक्रम संशाेधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । बागमती प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख पाठकले बताए ।


Author

थप समाचार
x