बागमती

ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएन : कामनपा

इकागज |
जेठ २३, २०८० मंगलबार १९:९ बजे

काठमाडौँ- काठमाडौँका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।

मंगलबार काठमाडौँ महानगरपालिकाको टोलीले महानगरपालिका भित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन अनुसार सेवा नदिएको पाइएको हो । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएको पाइएको र निरीक्षणपछि मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको बताए ।


निर्देशनात्मक पत्र भने महानगरपालिकाबाट बुधबार पठाइने बताए । उनले अस्पतालले महानगरको निर्देशनपछि अब स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार लक्षित समुदायलाई १० प्रतिशत छुट दिने आशा रहेको बताए ।​

महानगरपालिकाका मेयर बालेन्द्र साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराएका थिए । महानगरपालिकाले निरीक्षणपछि पनि अस्पतालले अटेर गरी तोकिएबमोजिम सेवाप्रवाह नगरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।


Author

थप समाचार
x