बागमती

मकवानपुरगढीलाई एमाले गढी गाउँ कमिटीकाे २० बुँदे सुझाव

इकागज |
असार ९, २०८० शनिबार १९:४१ बजे

मकवानपुर- मकवानपुरगढी गाउँपालिका कार्यालयलाई नेकपा एमाले गढी गाउँ कमिटीले २० बुँदे सुझाव दिएको छ । पालिका अध्यक्ष दोर्जे स्याङ्तानलाई जनताको सरकार भएको अनुभूति दिलाउने गरी काम गर्न अनुरोधसहित विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा एमाले गढी गाउँ कमिटीले सुझाव दिएको हो ।

गाउँपालिका कार्यालयमा गाउँपालिकाको निवर्तमान अध्यक्ष तथा पार्टी इन्चार्ज बिदुर हुमागाईँ, एमाले गाउँ कमिटी अध्यक्ष रामजी सापकोटालगायतका नेताहरूले एमालेले २०७९ वैशाखमा भएको स्थानीय निर्वाचन पश्चात आएका जनप्रतिनिधिले जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै काम गर्न नसकेकोतर्फ सचेत पनि गराएको छ । गाउँपालिकावासीको आवश्यकता र चाहना विपरीत गाउँ सरकार योजनाविहीन ढंगबाट अगाडि बढेको एमाले गढीकाे आरोप छ ।


स्थानीय तह जनतासँग प्रत्यक्ष सम्बन्ध रहने निकाय भएकाले जनताले हेर्दा यसका सबै गतिविधि देखिने, स्पर्श गर्दा छाम्न सकिने, सेवा प्रवाह र गरेका विकासको अनुभूति गर्न सकिने हुनु पर्नेमा वर्तमान पालिका सरकार यसतर्फ गम्भीर नभएको एमालेको जिकिर गरेकाे छ । यसैगरी २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले ल्याएको दूरगामी महत्वको योजनाहरू कटौती गरेको प्रति आपत्ति जनाइएको छ । २०७९ पछि आएका जनप्रतिनिधिबाट मकवानपुरगढीका जनताले सबैखाले विकास र सेवा प्रवाहमा सहज अनुभूति गर्न नपाएको एमाले गाउँ कमिटी अध्यक्ष रामजी सापकोटाले दाबी गरेका छन् ।

वर्तमान जनप्रतिनिधिले स्थानीय तहको सरकारको जिम्मेवारी नै महसुस नगरी अलमलिएको गन्तव्यहीन यात्रीको शैलीमा प्रस्तुत भएको सापकोटाले बताए । मकवानपुरगढीमा अघिल्लो कार्यकालमा अगाडि बढाइएको विकासका अभियानलाई निरन्तरता नदिनु, सबै दक्ष कर्मचारीहरूलाई हटाई विषयगत ईकाईबाट हुने महत्वपूर्ण सेवा अवरुद्ध गर्नु, मनोमानी आधारमा कर्मचारी नियुक्ति गर्नु, महत्वपूर्ण योजना कार्यान्वयन नगरी बजेट फ्रिज गर्नु, पालिकाबाट प्रवाह हुने सेवा रगतमा राजनैतिक प्रतिशोध र आस्थाका आधारमा निर्णय लिनुः एकलौटी उपभोक्ता समितिको गठन, राजस्वको छली र चुहावट हुनु जस्ता विषयका कारण एमालेको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष स्याङ्तानलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

एमाले मकवानपुरगढी गाउँ कमिटीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा विगतका अधुरा महत्वपूर्ण योजनालाई पूर्णता दिने गरी आवश्यकताका आधारमा योजना समावेश गर्न सुझाव दिएको छ । योजना तथा बजेट कार्यान्वयन गर्दा उपभोक्ता समिति गठनमा आफ्ना नजिकका व्यक्ति मात्र बोलाई गर्ने गरिएको भन्दै यस्ता कार्यको पूर्णत: अन्त्य गर्नुपर्ने जनाइएको छ । योग्यता, दक्षता र आवश्यकताका आधारमा नियुक्ति भएका करार कर्मचारीहरू हटाई विषयगत क्षेत्रको सेवा प्रवाहमा आएको गतिरोधलाई परिणाममुखी बनाई सेवा सुचारु गर्नुपर्ने एमाले गढी सुझाव दिएकाे छ ।

कर्मचारी नियुक्ति गर्दा योग्यता दक्षता भन्दा पनि राम्रोलाई पन्छाएर हाम्रोलाई अगाडि सारेकोमा एमालेले आपत्ति जनाएको छ । गाउँपालिका क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थ उत्खनन तथा माटो निकासीलाई पारदर्शी, व्यवस्थित, राजस्व चुहावट नहुने विधि र प्रक्रिया अवलम्बन गर्न, विभिन्न कम्पनीका नाममा आफैँ रसिद छपाई स्टक प्रमाणित नगरी गाउँपालिकाको करोडौं राजस्व चुहावट भएको समेत अध्यक्ष सापकोटाले दाबी गरेका छन् । व्यवस्थित खानी उत्खनन नहुँदा माथिल्लो क्षेत्रको वातावरण, पर्यावरण, प्राकृतिक सम्पति र तल्लो तटीय क्षेत्रमा रहेका बस्ती र खेतीयोग्य भूमि पूर्ण रूपमा असुरक्षित बन्दै गइरहेको तर्फ समेत अध्यक्ष स्याङ्तानलाई एमालेले ध्यानाकर्षण गराएको छ ।

जोखिम न्यूनीकरण गर्न माथिल्लो क्षेत्रको संरक्षण र विकास तथा तल्लो तटीय क्षेत्रका स्थायी तटबन्धको विगतमा गरिएको सुरुवातलाई सम्बन्धित उद्योग, र माथिल्ला सरकारसँग समन्वय गरी वार्षिक रूपमा नियमित अगाडि बढाउनुपर्ने सुझाव दिइएको छ । दुग्ध उत्पादक किसानको लागि प्रति लिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रम डुब्लीकेशन हुने नाममा कटौती गर्न खोजिएको तर्फ एमालेले आपत्ति जनाएको छ । अनुदान बढाएर दिन पर्नेमा रोकिने कार्यप्रति घोर आपत्ति रहेको गाउँपालिकाका निवर्तमान अध्यक्ष हुमागाईFले बताए ।

आगामी वर्ष दूधमा प्रति लिटर २ रुपैयाँ अनुदान दिने व्यवस्था गर्न र पशुधन संरक्षण, अनुदान, फलफूल, तरकारी, अनाजमा प्रति केजी अनुदान वृद्धि गरी मासुजन्य उत्पादन अनुदान कार्यक्रम, प्रति लिटर साझेदारी कृषक हितकोष कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिइएको हुमागाईले जानकारी दिए । शिक्षा क्षेत्रमा सरुवा, अनुमति, नियुक्ति वा शिक्षा क्षेत्रमा भएका क्रियाकलाप राजनीतिक आस्थाका आधार गरिएको प्रष्ट देखिएको भन्दै शिक्षा क्षेत्रलाई राजनीतिकरण गर्न खोजिएको ज्ञापनपपत्रमा उल्लेख छ ।

गाउँपालिकामा करिब निर्माण सम्पन्न भई सकेका तथा निर्माणको क्रममा रहेका १५ शैया अस्पताल, कोल्ड स्टोर, दाना उद्योग, पशु हस्पिटल, माटो परीक्षण प्रयोगशाला पूर्वाधारलाई पूर्णता दिई आवश्यक नीति बनाएर सञ्चालनमा ल्याउन एमालेले माग गरेको छ । ५ र ६ नम्बर वडा जोड्ने भालुखोलामा पुल, वडा नम्बर १ बुदुने खोला पुल, ताप्लाखर्कमा रहेको मगर समाज सामुदायिक भवनलगायतका अधुरा योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न समेत एमाले गढीकाे ज्ञापनपत्रमा माग गरिएको छ ।


Author

थप समाचार
x