बागमती

राष्ट्रिय सभा चुनाव

थापा र देवकोटालाई जिताउन ह्‍वीप जारी: नेमकिपा भन्छ, हामीलाई आवश्यक छैन

सुसन लामिछाने |
जेठ ४, २०७८ मगलवार १४:३६ बजे

फाइल तस्‍बिर

हेटौंडाः राष्ट्रिय सभाको लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि जेठ ६ गते हेटौंडामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेकपा एमालको तर्फबाट बहालवाला गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र तर्फबाट डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन् । यद्यपि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्ण तामाङ पनि चुनावी मैदानमा छन् । नेमकिपासँग चुनाव जित्न आवश्यक मत नभएकोले थापा र देवकोटाबीच प्रतिस्पर्धा देखिएको हो ।

उपनिर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा भएको पार्टी महासचिव इश्वर पोखरेलले जनाएका छन् । उनले पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्न प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्‍वीप जारी गरेका छन् । उनले जेठ ६ गते हेटौंडामा हुने चुनावमा ९ बजेदेखि ३ बजेसम्म अनिवार्य उपस्थित भई पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्न निर्देशन दिएका छन् । 


यसैगरी नेकपा माओवादीले पनि आफ्नो सम्पूर्ण प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुखहरूलाई डा. खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको  छ । माओवादी बागमती प्रदेशको सह–इन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, बागमती प्रदेश सभा संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले सक्षम, संघियता, गणतन्त्रको ज्ञाता समेत रहेको डा. खिमलाल देवकोटालाई कलम चिन्हमा मतदान गर्न ह्ीप जारी गरेको हो ।

बागमती प्रदेश सभामा कुल ११० सांसद रहेकोमा एक सांसदको निधन भएसँगै १०९ सांसदले मत दिँदैछन् । डा. खिमलाल देवकोटालाई माओवादीका २३ सांसद, कांग्रेसका २२ गरी कुल ४५ जना प्रदेश सांसदले मत दिनेछन् । यस्तै गृहमन्त्री थापालाई नेकपा एमाले ५६ सांसदले मत दिने भए पनि माधवकुमार नेपाल निकट देवकोटा भएको कारण ह्‍वीप उल्लंघन हुन सक्ने देखिएको छ । यता नेमकिपाको दुई प्रदेश सांसदको मत कृष्ण तामाङलाई प्राप्त हुनेछ ।

उनलाई भक्तपुर नगरपालिकाका एक मेयर र उपमेयरले मत दिनेछन् । नेमकिपाका तामाङलाई दुई सांसद, एक मेयर र एक उपमेयरले मत दिँदा १ सय ३२ मत प्राप्त हुनेछ । अन्य पार्टीहरूले चुनावमा मतदान गर्न ह्ीप जारी गरे पनि नेमकिपालाई ह्‍वीप जारी गर्न आवश्यक नभएको पार्टीको नेता सुरेन्द्रराज गोसाईले बताए । 

उपनिर्वाचनमा प्रदेशको ११९ स्थानीय तहका २३८ प्रमुख र उपप्रमुख तथा १०९ प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । मतदाताहरुले मतदान गर्न आउँदा अनिवार्य कोरोनाको पीसीआर रिपोर्ट देखाउनुपर्नेछ । कोरोना पोजेटिभहरूले भने छुट्दै मतदान केन्द्रबाट मत दिन पाउँनेछन् । यसअघि दुई मतदान केन्द्र तोकिएपनि सङ्क्रमितको लागि छुट्टै मतदान केन्द्र समेत तोकिने छ । उपनिर्वाचन हेटौंडाको भुटनदेवि माविमा हुनेछ । 

मतदातालाई होटलमा राखिने 
जेठ ६ गते उपनिर्वाचनमा मत दिन आउने मतदाताहरूको बसोबासको लागि हेटौंडाको केही होटलहरू खोलिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ६ वटा होटलहरूलाई खोल्न भनेको जानकारी दिए । अहिलेसम्म कति मतदाता बस्ने टुंगो लागेको छैन । ७० प्रतिशत मतदाता फर्कने मौखिक जानकारी आएको उनले बताए । टाढाबाट आएकाहरूलाई व्यवस्थापन गर्न केही होटलहरू खोलिने उनको भनाइ छ ।


Author

थप समाचार
x