बागमती

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन

इकागज |
भदौ १४, २०८० बिहीबार १७:५८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् । उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर हिम्मतले काम गर्न पनि आग्रह गरे ।

प्रमुख साहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताए । उनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।


काठमाडौँ महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआइकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गरे ।  

 


Author

थप समाचार
x