प्रेस चौतारी मकवानपुर महिला विभागले सामूहिक रक्षाबन्धन बाँधेर मनायाे जनैपूर्णिमा
मकवानपुर- प्रेस चौतारी मकवानपुर महिला विभागले जनैपूर्णिमाको अवसरमा सामूहिक रक्षाबन्धन विशेष कार्यक्रम गरेको छ । दाजुभाइ र दिदीबहिनीबीच प्रेमको प्रतीक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरूले पुरुषहरूलाई रक्षाबन्धन (डोरो) बाँधिदिएर पर्व मनाएका हुन् ।
पत्रकार महिला र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहोस् भनेर पर्व मनाइएको आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरूले आपसमा सामूहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए ।
महिलाहरूलाई हरेक वर्ष तीजमा पुरुषहरूले विशेष कार्यक्रम आयोजना गर्ने दर खुवाउने रमाइलोमा सहभागी गराउने गरेको भए पनि प्रेस चौतारी मकवानपुरमा पुरुषहरूका लागि जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएको यो पहिलो पटक हो ।
समाजलाई सहीमार्गमा ल्याउन तथा सही संस्कारको मार्ग दर्शकका रूपमा समेत पत्रकारिताले योगदान गर्न सक्ने प्रेस चौतारी नेपाल पूर्व केन्द्रीय सदस्य सरिता दाहालले बताइन् । ‘त्यसैले हामीले राखी भन्दा रक्षाबन्धनलाई छनौट गरेका हौँ,’ उनले भनिन् ।
पत्रकारिताका क्रममा सधैं एउटै फिल्डमा हिँड्ने क्रम आपतविपत पर्दा महिला पुरुषले दाजुभाइ र दिदीबहिनीका रूपमा सहयोग, भातृत्व, अभिभावकत्व र मित्रताको आभाष सधैं भएको उनले बताइन् । औपचारिका रूपमा यसरी कार्यक्रम गरेको भन्दै र यो अवसर दिएकोमा चौतारी मकवापुर महिला विभागलाई केन्द्रीय सदस्य दाहालले दिएन् । नेपाली संस्कृती र परम्परालाई समान मान्यता दिनका लागि पनि यस्ता कार्यक्रमहरू आवश्यक रहेको उनले बताइन् ।
यसैगरी चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चौतारी महिला विभाग रचनात्मक काममा लागि परेको भन्दै प्रशंसा गरे । ‘यसरी नेपाली संस्कृति र परम्पराको जगेर्नामा हाम्रा साथीहरू लाग्नु भएको छ, यो कामको उच्च प्रशंसा गर्न लायक छ,’ अधिकारीले भने ।
कार्यक्रममा चौतारीका पूर्व केन्द्रीय सदस्यहरू दिपेन्द्र रोक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरू दिपेश दाहाल, नविन तिमल्सेना जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको सभागिता रहेको थियो ।
कार्यक्रम चौतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टको अध्यक्षतामा भएको थियो । संगठनले पहिलो पटक सामान्य रूपमा सानो समूहमा कार्यक्रम मनाइएको र आगामी दिनमा यसलाई थप व्यवस्थित र ठूलो समूहमा मनाउन कोसिस गरिने विष्टले बताइन् ।
सधैं कार्यक्षेत्रमा व्यस्त हुने पत्रकारहरूलाई रिफ्रेसमेन्टका लागि पनि संगठनले समय समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको चौतारी मकवानपुर सहसचिव मनिता रानाले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया