बागमती

वातावरणीय परीक्षण प्रतिवेदन नबन्दा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण ठप्प

इकागज |
जेठ १८, २०७८ मंगलबार ६:५९ बजे

हेटौंडा : मकवानपुरको मयुरधापमा औद्योगिक क्षेत्रको शिलान्यास भएको तीन महिना बित्यो । तर अहिलेसम्म पनि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । वन तथा वातावरण मन्त्रालयबाट प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृति नहुँदा पूर्वाधार सम्बन्धी कार्य अघि नबढेको औद्योगिक क्षेत्र लिमिटेड मकवानपुरले जनाएको छ । आईईई स्वीकृत भएसँगै पूर्वाधारको कामहरु तत्कालै अघि बढाउने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए । 

गएको फागनुमा उद्योगमन्त्री लेखराज भट्टले दुई सय बिघा क्षेत्रमा बन्न लागेको मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । २०७२ सालमै औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले घोषणा गरेपनि त्यसको पाँच वर्षपछि शिलान्यास भएको थियो । 


कन्सलटेन्सीले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन मन्त्रालयमा पेश गरिसकेको र स्वीकृती हुने चरणमा रहेको प्रमुख कँडेलले जानकारी दिए । संघीय सरकारले दुई वर्षदेखि मयुरधाप औद्योगिक क्षेत्रलाई बजेट विनियोजन गर्दै आएको थियो । चालू आर्थिक वर्षमा औद्योगिक व्यवस्थापनको लागि ५८ करोड बजेट विनियोजन गरेको संघीय सरकारले आगामी वर्ष नयाँ औद्योगिक विस्तारको लागि मकवानपुरलाई ६० करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्षमा पनि संघले मयुरधाप औद्योगिक क्षेत्रलाई बजेट विनियोजन गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमा मयुरधाप औद्योगिक क्षेत्रमा दुई वर्षभित्र औद्योगिक पूर्वाधार निर्माण सम्पन्न हुने बताएका थिए । उनले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने बताएका हुन् । 

प्रदुषणरहित स्वच्छ राजधानी बनाउन उद्योगहरु स्थानान्तरण गर्न लागिएको हो । यसरी स्थानान्तरण भएर जाने उद्योगलाई सरकारले १० वर्षसम्म निशुल्क जग्गा उपलब्ध गराउनेछ । त्यहाँ सञ्चालन हुने उद्योगी, मिल, मेशिनरी लगायत पार्टपूर्जामा सरकारले एक प्रतिशत मात्रै भन्सार महशुल लगाउने अर्थमन्त्री पौडेलले बताएका थिए । ती उद्योगहरुको विद्युत माग पाँच वर्षसम्मको लागि पुरै छुट दिने सरकारले आगामी वर्षको बजेटमा उल्लेख गरेको छ । 

मयुरधाप औद्योगिक क्षेत्रमा ६२ प्लटहरु छुट्टाइएको छ । साढे ७ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुनेछ । निर्यातमुखी, कृषि र रोजगारी बढी सिर्जन गर्ने उद्योगलाई बढी प्राथमिकता दिइने जनाइएको छ । मयुरधाप औद्योगिक क्षेत्रमा पूर्ण रुपमा उद्योगहरु सञ्चालनमा आएसँगै करिब १० हजार रोजगारी सिर्जना हुने अनुमान छ । औद्योगिक क्षेत्रमा पेट्रोल, पम्प, हेलिप्याड, सडकपुल, सशस्त्र प्रहरीको क्याम्प र बगैचा निर्माण हुनेछ । 
 
  


Author

थप समाचार
x