बागमती

धादिङ फोस्रेटारको पुल सञ्चालनमा आएको एक हप्तामा फेरि अवरुद्ध

इकागज |
जेठ २२, २०७८ शनिवार १६:२३ बजे

काठमाडौँ : धादिङको फोस्रेटारमा त्रिशुली नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएको एक हप्तामा फेरि अवरुद्ध बनेको छ । धादिङको गल्छी गाउँपालिका १ स्थित फोस्रेटार र नुवाकोटको केउरेनी जोड्ने पक्की पुल सञ्चालनमा आएको एक हप्तामा फेरि अवरुद्ध भएको हो ।

पुल निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि बाटो नबन्दा पूल अवरुद्ध थियो । स्थानीयले आफ्नो घरको बाटो दिन नमानेपछि पुल सञ्चालनमा आउन सकेको थिएन । बाटो खुलाउन युवाहरु र अरु गाउँले मिलेर आन्दोलन गर्नुका साथै अभियान समेत सुरु गरेका थिए ।


चौतर्फी दबाब परेपछि स्थानीय तहका जनप्रतिनिधिको पहलमा स्थानीयलाई सम्झाई बुझाई गरेर अवरोध गरिएको बाटो खुलाएर पुल सञ्चालनमा आएको थियो । तर बाटो बन्दै गर्दा स्थानीयले फेरि बाटो अवरुद्ध गरेपछि पुल नै सञ्चालनमा आउन समस्या भएको हो ।

ुबिहीबार राती स्थानीय तिलक गैरेले बाटो बन्ने ठाउँमा फलाम गाडेर बाटो अवरुद्ध गरेका हुन् । ठेकेदारले सहमति भएको बाटोमा ग्राभेल गर्न खोज्दा आफूलाई थाहा नदिइएको भन्दै बाटो अवरुद्ध गर्नु परेको उनको भनाइ छ ।

बाटो अवरुद्ध भएपछि गाडी रोकिएका छन् । गाँउलेले फेरि आन्दोलनको तयारी गरेका छन् ।  २०७१ साल असार ३१ गते ठेक्का सम्झौता भएपनि गएको बैशाखमा मात्रै पुल निर्माण सम्पन्न भएको थियो । स्थानीयले फेरि बन्द भएको बाटो खुलाउन जनप्रतिनिधिसँग आग्रह गरेपनि सुनुवाइ नभएको स्थानीय युवा राजकुमार श्रेष्ठले जानकारी दिए । 

र, यो पनि

 


Author

थप समाचार
x