बागमती

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

इकागज |
जेठ २७, २०७८ बिहीबार ६:४९ बजे

हेटौंडाः बागमती प्रदेशले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सतारुढ दल नेकपा एमाले बाहेकका अन्य दलहरु माओवादी, कांग्रेस, विवेकशील, जसपा, नेमकिपाले मोर्चाबन्दी गरेका छन् । विपक्षी सांसदहरुले आगामी वर्षको नीति तथा कार्यक्रम जनतामुखी, कोभिड केन्द्रित व्यवस्थित र सन्तुलन हुनुपर्नेमा जोड दिएका छन् । तर विपक्षी दलहरुको सुझाव सरकारले आगामी नीति तथा कार्यक्रममा समावेश गर्ला कि नगर्ला आज थाहा हुनेछ । 

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले ९ पन्ने सुझाव आगामी नीति तथा कार्यक्रममा समावेश गर्न मुख्यमन्त्री डोरमणि पौडेललाई पेश गरेका थिए । उनले प्रदेशको गौरवको आयोजना काठमाडौं–हेटौंडा सुरुङमार्ग र विद्युतीय बस खरिदलाई नीति तथा योजनामा समावेश नगर्न सुझाव दिएका थिए ।


तर  प्रदेश सरकारले यी बाहेकका अन्य सुझावहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्न सक्ने देखिएको छ । सुरुङमार्ग निर्माणको कुनै औचित्य नभएको भन्दै सुझाव पेश गरेसँगै नेकपा माओवादीको  हेटौंडामा चौतर्फी आलोचना सुरु भएको छ । हेटौंडाका स्थानीय रमेश देवकोटाले विकासको गतिलाई रोक्न नहुने बताएका छन् । 

सुरुङ मार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमाने गरिएको छ । यो वर्षको अन्त्यसम्ममा परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । असार १५ गतेसम्म छनौट भएको ६ वटा परामर्शदतामध्ये एक छनौट हुने उनले बताए । 

सुरुङमार्गको सम्पूर्ण तयारी अन्तिममा पुगेको भन्दै बजेट सार्वजनिक भएपछि टेन्डर आह्वान हुने उनको भनाई छ । भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने ३.२ किलोमिटर दुई लेनको सुरुङमार्ग निर्माण हुनेछ । 

सुरुङमार्ग टेन्डर हुने अन्तिम तयारीमा पुगेकोले सरकार यसबाट ब्याक नहुने देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सुरुङमार्गलाई नीति कार्यक्रममा समावेश नगर्न सुझाव दिएको बारे जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् । 

त्यस्तै सरकारले विद्युतीय बस खरिद प्रक्रिया पनि नरोक्ने देखिएको छ । अन्य सुझावहरु भने विपक्षी दलको समावेश भएर नीति तथा कार्यक्रममा सम्भावना छ । यता प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले भने बजेटबारे पूर्ण छलफल नभई पास गर्न नदिने बताएका छन् । उनले सुरुङमार्ग निर्माण गर्न बजेट विनियोजन गर्न नहुने तर्क गरेका छन् । उनले आफ्नो दलले दिएको सुझाव नीति कार्यक्रम र बजेटमा समावेश भएर नआएमा आगामी बजेट पास नगर्ने चेतावनी दिएका छन् । 


Author

थप समाचार
x