बागमती

बागमती प्रदेशका ६ अस्पताललाई २ करोड ५५ लाख दिइने

इकागज |
असार ३, २०७८ बिहिवार १८:२ बजे

हेटौंडाः प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बागमती प्रदेशको ६ अस्पताललाई २ करोड ५५ लाख दिने निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत ६ अस्पताललाई कोभिड नियन्त्रण र उपचार गर्न रकम दिइने भएको हो ।

बुधबार हेटौंडामा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यस्थापन निर्देशक समितिको बैठकले दोलखाको सिंगटी अस्पताललाई २० लाख, धुलिखेल अस्पतालले संचालन गरेको नुवाकोटको लिखु गाउँपालिकामा संचालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरलाई ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल काठमाडौंलाई ५० लाख र ख्वप अस्पताल भक्तपुरलाई १ करोड दिने निर्णय गरेको छ ।


यसअघि भक्तपुरको ख्वप अस्पताललाई संघीय सरकारले र प्रदेश सरकारले बजेट विनियोजन नगरेको भन्दै भक्तपुरबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सरकारको आलोचना गर्दे आएका थिए । उनले प्रदेश सरकारले ख्वप अस्पतालाई बजेट विनियोजन गरेको भन्दै यसबारे पटक पटक आफुहरुले आवज उठाउँदै आएको बताए ।

यस्तै सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पीडितहरूको लागि  तत्काल खाद्यान्न व्यवस्थापन गर्न आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा पठाइने भएको छ । मनसुनबाट हुने क्षति रोकथाम एवं उद्दारको लागि प्रदेश आपतकालिन केन्द्र अन्तर्गत गोदामघरमा भएको उद्दार सामग्री बागमती प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाको जिल्ला प्रहरी कार्यालयमा न्यूनतम उद्दार सामग्री तत्काल पठाइने भएको छ । 

प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्देशक समितिले निर्णय गरेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ को लागि विपद व्यवस्थापन गर्न १० करोड बजेट विनियोजन गरेको छ । 


Author

थप समाचार
x