बागमती

सडक नहुँदा हेलम्बुमा राहत पुर्‍याउन समस्या

इकागज |
असार ६, २०७८ आइतबार १८:२५ बजे

काठमाडौँ : असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत पुर्‍याउन समस्या भएको छ । मेलम्ची नगरपालिका केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री पुर्‍याउन समस्या भएको हो । 

बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ । सो स्थानमा आजबाट मात्रै सडक सुचारु भएको छ । सडक नबन्दा हेलम्बु गाँउपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन । सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाँउपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ ।


चनौटेमा रहेको रातोपुल पनि जोखीमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ । हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनस्थापनाको काममा सजिलो हुने बताए । जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार निति लागु गरेको छ । जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा गोदाम गरीएको छ । सो स्थानमा गोदाम गरिएको सामाग्री पीडितको हातसम्म पुग्न सकेको छैन ।

हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्री समेत मेलम्चीमा नै रोक्ने गरिएको छ । हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्‍याइएका सामग्रीको मात्रै भर पर्नुपर्दा पिडितले आधारभुत आवश्यकताका सामग्री समेत पाउन सकेका छैनन् । 


Author

थप समाचार
x