विपक्षीले मागे बागमती प्रदेशका सहकारी मन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं - विपक्षी तीन दलले बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको राजीनामा मागेका छन् । स्वकीय सचिव रवि थापाको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
मन्त्री श्रेष्ठका स्वकीय सचिव धादिङका थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापाले सुसाइड नोटमा सुमेरु सहकारीसम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र उनको आत्महत्या बाध्यात्मक परिस्थितिमा भएको देखिएकाले मन्त्री श्रेष्ठले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माओवादी, राप्रपा र एकीकृत समाजवादीको माग छ ।
‘स्वकीय सचिवको मृत्युपछि बाहिरिएको अडियो र सुसाइड नोटमा सहकारी मन्त्रीलगायत अन्य नेताहरूसमेत नाम सुनिएको छ । बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचारहरू पनि आएका छन् । यस कारण मन्त्रीज्यूले राजीनामा दिएर छानविनमा मार्गप्रशस्त गर्नुपर्छ,’ तीन दलको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको विषयमा गम्भीरतापूर्वक विचार गर्न माग गर्दै प्रतिपक्षी दलहरूले घटनाको प्रदेशस्तरमै छानबिन गर्न संसदीय छानबिन समितिसमेत बनाउन माग अघि सारेका छन् । ‘प्रदेश सभाको बैठक अविलम्ब सञ्चालन गरी स्वकीय सचिव थापाको मृत्युको छानविन गर्न सर्वदलीय संसदीय छानबिन समिति निर्माण गर्न माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया