बागमती

बागमतीमा ट्राफिक जरिवानाबाट २५ करोड राजस्व

इकागज |
साउन २, २०७८ शनिवार ६:३० बजे

फाइल तस्बिर

बागमती- बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराम कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा गत आार्थिक वर्षमा १२५.३४ प्रतिशतले राजश्व वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा एक लाख ५१ हजार १२१ सवारी कारबाहीबाट रु १० करोड ९८ लाख ६ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।
 
आर्थिक पारदर्शीता कायम गर्ने र प्रहरी कर्मचारीमा आन्तरिक शुद्धीकरण ल्याएका कारण राजश्वमा वृद्धि भएको कोइरालाको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालय मातहतका प्रहरीले घुस रकम फिर्ता गरेर मात्रै रु २० लाख ३५ हजार ५०० राजश्व सङ्कलन भएको छ । उहाँका अनुसार आर्थिक प्रलोभनबापत रु तीन लाख ५६ हजार ८०० रकम फिर्ता गरी उनीहरूलाई जरिवाना गरेर पूर्ण राजश्व असुल गरिएको थियो । सो क्रममा एक हजार ९३८ सवारी साधनका चालक सहचालकले गल्ती ढाकछोप गर्न रकम दिएका थिए ।
 
कार्यालयले बढी भाडा लिने ६२ वटा सवारी साधनबाट ५६२ जनासँग लिएको रु पाँच लाख ८५ हजार १०० फिर्ता गराई रु दुई लाख ८७ हजार जरिवाना गराएको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक नराखेका १६२ वटा सवारीबाट रु एक लाख ५४ हजार ५००, प्रयोजन विपरीत सञ्चालन भएका १६ हजार ३९५ सवारीबाट रु एक करोड ७५ लाख ६ हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएका एक हजार ४३७ सवारीका चालकबाट रु १४ लाख ४७ हजार जरिवाना सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
 
यसैगरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १३ हजार ३३९ सवारीबाट रु एक करोड २५ लाख २१ हजार, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने २५ हजार ५३० सवारीबाट रु दुई करोड ६५ लाख ३९ हजार, हेल्मेट एवं सिटबेल्ट नलगाई सवारी चलाउने १२ हजार ७३८ सवारीबाट रु ८७ लाख ६८ हजार, ओभरलोड बोकेका ६७ हजार २९६ सवारीबाट रु सात करोड २० लाख ६१ हजार, तीव्र गतिमा चलाउने पाँच हजार ९१६ वटा सवारीबाट ५४ लाख ४६ हजार ५०० जरिवाना सङ्कलन गरिएको कोइरालाले जानकारी दिए ।

गत आर्थिक वर्षमा भएका एक हजार ५१२ सवारी दुर्घटनामा परी जना ३३५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते एक हजार २४ र सामान्य एक हजार ८१६ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भएका ७९३ दुर्घटनामा ४०४ जनाको मृत्यु भएको थियो भने ७७६ जना गम्भीर घाइते र उक हजार १४२ जना सामान्य घाइते भएका थिए । धेरै दुर्घटना हुने नारायणगढ-मुग्लिन सडक खण्डमा सडक विस्तार गरेसँगै मानवीय क्षतिमा ४० प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ । कार्यालयले आचरण विपरीत कार्य गर्ने १५ जना प्रहरीलाई विभागीय कारबाही र राम्रो काम गर्ने ५८ जना प्रहरीलाई पुरस्कृतसमेत गरेको छ । रासस



Author

थप समाचार
x