बागमती

भूमिगत तलासहितको ८ तले सुविधासम्पन्‍न भवन बन्‍ने

करिब ७० करोड लागतमा प्रशासनिक भवन बनाउँदै काठमाडौँ महानगर

इकागज |
असोज २५, २०७८ सोमबार ११:११ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरे । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । 

काठमाडौँ महानगको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । 


विपदको समयमा प्रयोग गर्न सकिनेगरी आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ ।  भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रिय भवनको शिलान्यास गरेको बताए । महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन बिभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको बताए । 

महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए । महानगरको केन्द्रीय भवन सँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए। 

महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ काठमाडौँ महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।  


Author

थप समाचार
x