बागमती

बागमतीमा पाण्डे मुख्यमन्त्री बन्दै, यी हुन् सम्भावित मन्त्री

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १०:१८ बजे

मकवानपुर- एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । 

अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ  । 


प्रदेश प्रमुखको कार्यालयले पनि आज दिउँसाे ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको छ । 

बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ । पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ । एमालेमा भने पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन् । मुख्यमन्त्रीमा पाण्डे आज दिउँसाे ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ । 

को-को बन्लान् मन्त्री ? 
मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ । सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान,नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनाल छन् ।

चर्चामा आए अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने पनि स्रोतको भनाइ छ ।

अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ । तर मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् ।

दिउँसो साढे ३ बजे सपथको तयारी 
मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि आज दिउँसाे साढे ३ बजे सपथको तयारी छ ।  प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र सपथ ग्रहण गराइने तयारी छ । सपथको आवश्यक तयारी पुग्न नसकेकमा साढे ३ देखि अपराह्न ५ बजेभित्र बागमतीमा नयाँ सरकारका मुख्यमन्त्री तथा मन्त्रीले सपथ खाइसक्ने छन् । 


Author

थप समाचार
x