बागमती

पाँचखालमा मदिरा सेवनका लागि ‘सेवन कार्ड’ लिनु पर्ने

दैनिक १८० मि.लि र एक बोत्तल बियर मात्र सेवन गर्न पाइने

इकागज |
चैत २, २०७७ सोमबार १८:१३ बजे

पाँचखाल : काभ्रेको पाँचखाल नगरपालिकाले नगर क्षेत्रभित्र मदिरा सेवन गर्न अनुमति लिनु पर्ने नियम बनाएको छ । मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन तथा व्यवस्थापन गर्न मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७ मा नगरले यस्‍तो व्‍यवस्‍था गरेको हो । ऐनमा उत्पादन र बिक्री वितरणका लागि अनुमति पत्र लिनु पर्ने र मदिरा सेवनकर्ताले वार्षिक शुल्क तिरेरै ‘सेवन कार्ड’ लिनु पर्ने व्‍यवस्‍था छ । 

ऐनले प्लाष्टिकको पोका (पाउच) वा प्लास्टिकको बोत्‍तलमा मदिरा राखी उत्पादन तथा बिक्री वितरण गर्नमा निषेध गरेको छ । अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई बिक्री वितरण गर्न नपाइने र अठार वर्ष उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्न समेत नपाउने व्यवस्था गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिए । उनकाअनुसार सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन र घरेलु हिंसालाई अन्त्य गर्नको लागि नगरपालिकाले यस्‍तो नियम बनाएको हो । 


मदिरा सेवन गरी समुदायमा हो-हल्ला, शान्ति भंग हुने क्रियाकलाप वा झै-झगडा गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना र सोही व्यक्तिले पटक पिच्छे सोही कसूर गरेमा २० प्रतिशतका दरले जरिवाना बढ्दै जाने प्रावधान राखेको नगरप्रमुख खरेलको भनाइ छ ।

उनकाअनुसार नगरपालिकाले आफ्नो सेवा क्षेत्रमा प्रति वडा १ वटा होलसेल मदिरा पसल र ५ वटा ओसार-पसार मदिरा पसलका लागि मात्र अनुमति दिने ऐनमा उल्लेख छ । यसका लागि मदिरा सेवनकर्ता २ सय जना बराबर एक मदिरा बिक्री वितरण पसल हुने गरी नगरपालिकाले विक्री वितरणको लागि अनुमति प्रदान गर्ने र मदिरा सेवनकर्ता २ सयभन्दा कम भएको स्थानमा बस्ती समायोजन गरी लगतका आधारमा मदिरा बिक्री वितरणको लागि अनुमति पत्र प्रदान गर्न सकिने उल्लेख छ । 

मदिरा होलसेल बिक्री कर्ता र ओसार-पसारकर्ताले थोक बिक्री कर्तालाई बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म बिक्री वितरण गर्नु पर्नेछ । ओसार पसार गर्ने बिक्रेताले बिक्री गरेको मदिराको लगत राख्ने व्यवस्था मिलाउनु पर्ने र सेवनकर्तालाई बेलुकी ५ बजेदेखि ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने उल्लेख छ । यस्तै मदिरा बिक्रेताले बिक्री गरेको मदिराको लगत राख्‍ने व्यवस्था आफ्नो लगत पुस्तिकामा मिलाउनुपर्ने पनि बाध्यकारी बनाइएको छ । मदिरा पसल विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिक स्थल, पार्क, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा कम्तीमा २०० (दुई सय)  मिटर टाढाको दुरीमा हुनुपर्ने उल्लेख छ । सामाजिक शान्ति कायम गर्न विशेष पर्व, उत्सव, मेलाको समयमा मदिरा बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।

यस्तै, सेवनकर्ताले दैनिक रूपमा १८० मि.लि र बियर परिकारमा एक बोत्तल मात्र सेवन गर्न पाउने उल्लेख छ । तर त्यसका लागि नगरपालिकाबाट सेवन कार्ड लिनु पर्ने र सो बापत वार्षिक एकमुष्ट ५ सय रुपैयाँ नवीकरण र कार्ड बापत ५ सय रुपैयाँ बुझाउनु पर्ने उल्लेख छ । अतिथि कार्ड बापत प्रत्येक दिन एक सय रुपैयाँका दरले तिर्नु पर्ने उल्लेख छ । मदिरा ऐनको विपरीतका कसूरबाट संकलन हुने जरीवाना बापतको रकम जम्मा गर्नको लागि नगरपालिका कार्यालयले एउटा छुट्टै खाता खोल्न सक्ने र उक्त रकमको २५ प्रतिशत रकम सुरक्षा व्यवस्थापन, २५ प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा, १५ प्रतिशत सुराकीलाई, १५ प्रतिशत सूचनामा र २० प्रतिशत रकम नगरपालिकाको संचित कोषमा जम्मा गरिने पनि उल्लेख छ ।


Author

थप समाचार
x