बागमती

स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो

इकागज |
चैत १३, २०७८ आइतबार १४:५८ बजे

मकवानपुर । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन आयोग मकवानपुरले जिल्लाको सबै स्थानीय तहहरुमा निर्वाचन अधिकृत तोकेको छ ।

सार्वजनिक रुपमा सुचना जारी गर्दै आज आइतबार निर्वाचन अयोगले मकवानपुरको स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । आयोगले स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । हेटौंडा उपमहानगर जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको हो । यसैगरी स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामति सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेका छन् ।

थाहा नगरपालिकामा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

यस्तै इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका अधिकृत हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत रुद्रहरी भण्डारीलाई तोकिएको छ ।

यसैगरी मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय मकवानपुरका अधिकृत पुर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिइनेछ ।



Author

थप समाचार
x