जनप्रतिनिधिले त्यागे सरकारी सुविधा
मकवानपुर - स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा जनप्रतिनिधिहरूले आफ्नो लोकप्रियता बढाउने अनेक तरिका अपनाउन थालेका छन् ।
मकवानपुरको एउटा गाउँपालिकाका जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरूले खाँदै आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरूले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका हुन् ।
शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा कार्यपालिकाको अन्तिम बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरूलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले आफूहरु अब आआफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् । सरकारले आगामी ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै दलहरुमा निर्वाचनको चटारो सुरु भइसकेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहित कांग्रेस र अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरु कार्यपालिका बैठककाबीच एकअर्कालाई फूलमाला र अबीर लगाएर बिदा भए ।
'हामीले राजीनामै दिएर पनि चुनावमा होमिन सक्थ्यौं तर, त्यसो गर्दा जनताको काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको काम चाहिँ गर्ने तर, सरकारी सुविधा चाहिँ त्याग गर्ने निष्कर्षमा पुगेका छौं' गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने ।
'अर्को पटक पनि पार्टीले टिकट दिएमा र जनताले पत्याएमा पुनः गाउँपालिकाको काम कारबाही सम्हाल्न हामीमध्ये धेरै दोहोरिन सक्छौं, अहिलेलाई सबै सुविधा त्यागेर उच्च नैतिकता प्रस्तुत गरेका छौं' उनले भने ।
करिब पाँच वर्षसम्मसँगै यात्रा गर्दा कार्यपालिका सदस्यहरूबाट धेरै सहयोग प्राप्त भएको र आफूहरूले सोचेभन्दा धेरै काम गर्न सफल भएको पनि अध्यक्ष मल्लले स्मरण गरे ।
'हामी फरक फरक पार्टीबाट निर्वाचित भएर आएका थियौं । फरक पार्टी र फरक विचार हुँदा काम गर्न अप्ठेरो भएका अन्य स्थानीय तहका धेरै उदाहरण छन् तर, हाम्रोमा कुनै दिन पनि त्यस्तो विवाद भएन । जनताको काममा हामी एक मन भएर लाग्यौं' अध्यक्ष मल्लले भने । उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबै क्षेत्रका व्यक्तित्व र संघसंस्थाहरूलाई पनि धन्यवाद र आभार व्यक्त गरे ।
बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत देवचन्द्र गर्तौलाले जनप्रतिनिधिहरूलाई बिदाइ गर्दै आगामी निर्वाचनबाट जोसुकै निर्वाचित भएर आएता पनि कानुन, विधि र प्रक्रियामा रहेर आफूहरू सहयोग गर्न तयार रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया